
दाङ, १२ पुस ।
दाङको तुलसीपुरमा सञ्चालन भइरहेको ‘प्रथम तुलसीपुर महोत्सव’ को नवौँ दिन चर्चित कलाकारहरूको सशक्त प्रस्तुति साथ दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । मुख्य आकर्षणका रूपमा गायक रमेशराज भट्टराई र गायिका रेखा पोख्रेलको सांगीतिक कार्यक्रमले महोत्सवस्थलको माहोल झनै उत्साहपूर्ण बनेको हो ।
पुसको चिसो साँझलाई बेवास्ता गर्दै ‘बहुला’ गायकका रूपमा परिचित रमेशराज भट्टराईले स्टेज सम्हाल्ने बित्तिकै दर्शकहरू उत्साहित बनेका थिए । उनका लोकप्रिय गीतहरूले दर्शकलाई नाच्न र झुम्न बाध्य बनाउँदा महोत्सवस्थल धुलाम्मे देखिन्थ्यो । ‘राजा राजा भन्थी बाजा बजाएर गई’ र ‘बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई’ जस्ता हिट गीतमा दर्शकको हुटिङ र तालीले वातावरण थप रोमाञ्चक बनेको थियो ।
यसैगरी चर्चित गायिका रेखा पोख्रेलले प्रस्तुत गरेका गीतहरूले पनि दर्शकको मन जित्न सफल भए । उनका चर्चित गीतहरूमा दर्शकहरू मोबाइलको टर्च बाल्दै साथ दिएका थिए । साँझ ढल्किँदै जाँदा पनि दर्शकको उत्साहमा कमी नआएको देखिन्थ्यो ।
महोत्सवमा पुराना लोकभाकाको संरक्षण र प्रवर्द्धन गर्दै आएको शिल्पा ग्रुपले पनि सांस्कृतिक प्रस्तुति दिएको थियो । थारु गायक राजेन्द्र चौधरीले थारु समुदायको मौलिक संस्कृति झल्किने गीत प्रस्तुत गर्दा दर्शकले खुलेर प्रशंसा गरेका थिए । त्यस्तै सोनी डान्स क्लबको नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रंगीन बनाएको थियो ।
चर्चित कलाकारहरूको प्रस्तुति रहेकाले आज महोत्सवस्थलमा दर्शकको चाप अत्यधिक देखिएको थियो । भिड व्यवस्थापन र शान्ति सुरक्षाका लागि सुरक्षाकर्मीहरू सक्रिय देखिएका थिए ।
‘स्थानीय वस्तुको प्रवर्द्धन गरौँ, औद्योगिक वातावरणको सुधार–दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीका अनुसार दिनप्रतिदिन दर्शकको सहभागिता बढ्दो क्रममा छ । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा कला–संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।
