
दाङ । तुलसीपुर उपमहानगरपालिका–२ भित्र पर्ने खैरीपुर–अस्वार सडकखण्डको भमके खोलामा निर्माण हुन लागेको पुलको शिलन्यास सम्पन्न भएको छ।
वडा अध्यक्ष भिम योगीको पहलमा चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट करिब सवा एक करोड रुपैयाँको लागतमा पुल निर्माण गर्न लागिएको हो। पुल निर्माणको औपचारिक शुभारम्भ आज आयोजित कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले गर्नुभएको हो।

शिलन्यास कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष भिम योगीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष विजय बीके र वडा नम्बर ८ का वडा अध्यक्ष धर्म ओली विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण वडा नम्बर २ का वडा सचिव सन्तोष न्यौपानेले गर्नुभएको थियो।
पुल निर्माण सम्पन्न भएपछि खैरीपुर–अस्वार क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता हुने, वर्षायाममा हुने समस्या न्यूनीकरण हुने तथा समग्र क्षेत्रमा आर्थिक तथा सामाजिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।
