
सल्यान । सल्यानको कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब ३:१० बजे पर्सेनी निवासी ४२ वर्षीया धनसरी रावत घर नजिकैको जंगलमा घाँस–दाउरा काट्न गएकी थिइन्। सोही क्रममा बाघले उनलाई आक्रमण गरी जंगलतर्फ तानेको स्थानीयले प्रहरी चौकी घुईयाबारी, सल्यानमा जानकारी दिएका थिए।
सूचना पाएपछि प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको कमाण्डमा दुई जनाको प्रहरी टोली स्थानीयवासीसँगै घटनास्थलतर्फ गएको थियो। घटनास्थल प्रहरी चौकी घुईयाबारीबाट करिब १ किलोमिटर दक्षिणतर्फ हरियाली सामुदायिक वन क्षेत्रमा रहेको छ।
प्रहरी टोलीले दिउँसो ४:१५ बजे घटनास्थलमा पुगेर अनुसन्धान गर्दा मृतक धनसरी रावत बिहान करिब ८ बजे हरियाली सामुदायिक वनमा घाँस–दाउरा काट्न गएको खुल्न आएको थियो। खोजतलासका क्रममा साँझ ५ बजे घरबाट करिब ५०० मिटर दक्षिणतर्फ हरियाली सामुदायिक जंगलमा उनको शव फेला परेको छ।
शवको बायाँ खुट्टा र मलद्वारको भाग बाघले खाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ।
