
तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा बोर्डिङ स्कुलले आइतबार विद्यालय परिसरमै एक दिने खाद्य मेला (फुड फेस्टिबल) सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यार्थीहरूको कक्षा–केन्द्रित पढाइलाई व्यवहारिक ज्ञान, सीप र उद्यमशील सोचसँग जोड्ने उद्देश्यले विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ।
खाद्य मेलामा विद्यार्थीहरूले समूह बनाएर विभिन्न स्टल सञ्चालन गरेका थिए। स्टलमा उनीहरूले आफ्नै मेहनतले तयार पारेका मौलिक तथा स्थानीय परिकारहरू प्रदर्शन तथा बिक्री गरेका थिए। परिकार बनाउनेदेखि मेनु तयार गर्ने, मूल्य निर्धारण गर्ने र ग्राहकसँग प्रत्यक्ष रूपमा कारोबार गर्ने काममा विद्यार्थीहरूको उल्लेखनीय उत्साह देखिएको थियो।
विद्यालयका प्रधानाध्यापक छविकुमार वलीका अनुसार यस्तो कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिरको सिकाइ प्रदान गरेको छ। उहाँले फुड फेस्टिबलमार्फत विद्यार्थीले सांस्कृतिक खानाका परम्परागत महत्व बुझ्नुका साथै आर्थिक कारोबार, बजार व्यवस्थापन र आत्मनिर्भरताको आधारभूत ज्ञान हासिल गरेको बताउनुभयो। “विद्यार्थीले सिकाइसँगै आफ्नै प्रयासबाट आम्दानीसमेत गर्न सफल भएका छन्,” उहाँले भन्नुभयो।
खाना स्वयं तयार गरी मूल्य तोकेर बिक्री गर्ने अभ्यासले विद्यार्थीको आत्मविश्वास र निर्णय क्षमतामा सकारात्मक प्रभाव परेको विद्यालयको भनाइ छ। पछिल्लो समय शिक्षा प्रणालीमा ‘लर्निङ बाइ डुइङ’ अर्थात गरेर सिक्ने अवधारणालाई प्राथमिकता दिइँदै आएको सन्दर्भमा सगरमाथा बोर्डिङ स्कुलले श्रमको सम्मान र उद्यमशील सोच विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो।
मेलामा अभिभावक तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक छविकुमार वलीको अध्यक्षता तथा सिइओ यमकान्त खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैयाँले गर्नुभएको थियो।
