
तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले चालु वर्ष दुई हजारभन्दा बढी किशोरीलाई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप उपलब्ध गराउने भएको छ।
सोमबार तुलसीपुरमा आयोजित पालिकास्तरीय विद्यालय केन्द्रित खोप अभियान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अन्तक्रिया कार्यक्रममा जनस्वास्थ्य प्रवद्र्धन शाखाले अभियानको तयारी र लक्ष्यबारे जानकारी दिएको हो।

जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार यस वर्ष उपमहानगरपालिकाभित्र कक्षा ६ मा अध्ययनरत २ हजार १२४ जना किशोरी तथा विद्यालय बाहिर रहेका ४९ जना गरी जम्मा २ हजार १७३ जनालाई खोप लगाउने लक्ष्य तय गरिएको छ। गत वर्ष भने तुलसीपुरमा १० हजार १६१ जना किशोरीले एचपिभी खोप प्राप्त गरेका थिए।
माघ २८ गतेदेखि फागुन १ गतेसम्म उपमहानगरपालिकाका १९ वटै वडामा रहेका करिब १ सय खोप केन्द्रबाट सेवा प्रदान गरिने जनाइएको छ। पाठेघरको मुखको क्यान्सरबाट जोगिन प्रभावकारी मानिने यो खोप कक्षा ६ मा अध्ययनरत किशोरी, गत वर्ष लक्षित उमेर समूहमा परेर छुटेका, हाल ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई प्राथमिकताका साथ लगाइनेछ।
यसअघि एचपिभी खोपको एक मात्रा लगाइसकेका किशोरीलाई पुनः खोप आवश्यक नपर्ने जनस्वास्थ्य अधिकृत विमल केसीले जानकारी दिनुभयो।
यस वर्ष सबैभन्दा धेरै किशोरी वडा नं. ६ मा रहेका छन्। उक्त वडामा ५ सय ८९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ र तीन दिनसम्म खोप कार्यक्रम सञ्चालन गरिनेछ।
