
दाङ, २० असार — बालविवाह, महिला शिक्षा, पारिवारिक सम्बन्ध र महिलाले भोग्ने सामाजिक संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ।
चलचित्र प्रदर्शनअघि सार्वजनिक गरिएको ट्रेलरले शिक्षामार्फत भविष्य निर्माण गर्ने सपना देखेकी एक युवतीको जीवनमा आउने उतारचढावलाई प्रस्तुत गरेको छ। सामाजिक कुरीति, पितृसत्तात्मक सोच, घरेलु हिंसा तथा वैवाहिक जीवनका चुनौतीसँग जुध्दै आफ्नो अस्तित्व र सपनालाई जोगाउन गरेको संघर्षलाई ट्रेलरमा भावनात्मक रूपमा देखाइएको छ। विशेषगरी अटिजम भएका युवकसँग विवाहपछि उत्पन्न हुने मानसिक र सामाजिक अवस्थालाई पनि कथाले समेटेको छ।
शनिबार तुलसीपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका निर्देशक डा. कपिल रिजालले ‘गौँथली’ मनोरञ्जनसँगै समाजलाई सोच्न बाध्य पार्ने विषयवस्तुमा आधारित रहेको बताउनुभयो। उहाँले बालविवाह न्यूनीकरण, महिला सशक्तीकरण, शिक्षाको महत्त्व र परिवारप्रतिको जिम्मेवारीलाई चलचित्रले मुख्य रूपमा उठाएको जानकारी दिनुभयो।
चलचित्रको कथा डा. भोला रिजालले तयार गर्नुभएको हो। चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, रवीन्द्र झा, लुनिभा तुलाधर, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, अंशु ओली र प्रिन्स नेपालीलगायत कलाकारको अभिनय रहेको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नारायणी रजौरेले समाजमा सकारात्मक परिवर्तन ल्याउन सन्देशमूलक चलचित्रको भूमिका प्रभावकारी हुने धारणा राख्नुभयो। त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिमल रिजालले यथार्थमा आधारित चलचित्रलाई दर्शकले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष निरला अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव एकराज भण्डारीले गर्नुभएको थियो।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘गौँथली’को निर्देशन डा. कपिल रिजालले गर्नुभएको हो। पटकथा तथा संवाद लेखनमा निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको निर्माण पक्षले जनाएको छ।
निर्माण टोलीका अनुसार चलचित्रले मनोरञ्जनसँगै बालविवाह अन्त्य, महिला शिक्षा, समान अधिकार र सामाजिक चेतनाबारे बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।
