
सल्यान |सल्यानको कपुरकोट गाउँपालिका–३ ले सुरक्षित मातृत्व तथा संस्थागत सुत्केरी सेवामा ऐतिहासिक सफलता हासिल गर्दै ‘जिरो होम डेलिभरी (पूर्ण संस्थागत सुत्केरी)’ वडा घोषणा भएको छ। योसँगै कपुरकोट–३ नेपालकै चौथो तथा कर्णाली प्रदेशकै पहिलो ‘जिरो होम डेलिभरी’ वडा बन्न सफल भएको छ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट सम्बन्धित कार्यविधि प्राप्त भएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानले कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रम सञ्चालन भएको सात दिनभित्रै वडा नं. ३ ले सबै गर्भवती महिलाको संस्थागत सुत्केरी सुनिश्चित गर्दै ‘जिरो होम डेलिभरी’ घोषणा गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

घोषणा कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष प्रदीप खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन प्रमुख अतिथि रहनुभएको थियो भने गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी तथा स्वास्थ्य सेवा कार्यालय सल्यानकी जनस्वास्थ्य अधिकृत कविता खनाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमको सञ्चालन कपुरकोट गाउँपालिकाकी नर्सिङ प्रमुख लीला शर्माले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
‘जिरो होम डेलिभरी’ अभियानले घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्दै सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउने लक्ष्य राखेको छ। कपुरकोट–३ को यो उपलब्धिलाई सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य तथा गुणस्तरीय स्वास्थ्य सेवाको क्षेत्रमा अनुकरणीय उदाहरणका रूपमा हेरिएको छ।
