
दाङ, साउन १५ — दाङको तुलसीपुर उपमहानगरपालिका–८, गहते खोलानजिक स्कुल बस रोकी विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार २०८३ साउन १४ गते बिहान १०:४० बजे तुलसीपुरबाट भमकेतर्फ विद्यार्थी लिएर जाँदै गरेको रा १ ख ४६१ नम्बरको ग्रेट अरनिको स्कुलको बसलाई लुम्बिनी प्रदेश ०२–००१ प ७६४१ नम्बरको मोटरसाइकलमा आएका दाङको दंगीशरण गाउँपालिका–५ का १८ वर्षीय सुदिन गिरी र उनका साथी ‘जेनिस’ भन्ने व्यक्तिले रोकेका थिए। त्यसपछि बसमा सवार कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोस्ट बेलुवाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा घटनाको भोलिपल्ट अर्थात् साउन १५ गते साँझ करिब ६ बजे घटनामा संलग्न सुदिन गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका गिरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिएका छन्। घटनामा संलग्न भनिएका अर्का व्यक्ति ‘जेनिस’को खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
