
तुलसीपुर । गर्मी मौसम सुरु भएसँगै पशुपन्छीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिन थालेका छन्। मौसममा आउने परिवर्तन, अत्यधिक गर्मी तथा सरसफाइको कमीका कारण पशुपन्छीमा ज्वरो, पखाला, छरौटी तथा गाईभैँसीमा जुका लाग्नेजस्ता समस्या देखिन सक्ने भएकाले किसानलाई सचेत रहन पशु चिकित्सकहरूले आग्रह गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. मनोज ओलीका अनुसार गर्मी याममा पशुपन्छीको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। विशेषगरी तापक्रम बढ्दै जाँदा पशुपन्छीमा ज्वरो आउने, छरौटी लाग्ने, पखाला लाग्ने तथा गाईभैँसीमा जुका लाग्नेजस्ता समस्या देखिने गरेको उहाँले बताउनुभयो।
उहाँका अनुसार यस्ता समस्या सामान्यजस्तो देखिए पनि समयमै उपचार नपाउँदा पशुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसैले किसानले पशुपन्छीको व्यवहार, खानपान र स्वास्थ्य अवस्थालाई नियमित रूपमा निगरानी गर्नुपर्ने उहाँको सुझाव छ।
बर्डफ्लुको त्रास, तर दाङमा संक्रमण छैन
नेपालमा पछिल्लो समय बर्डफ्लुको समस्या बढ्दै गएको भन्दै विभिन्न क्षेत्रमा चिन्ता र त्रास देखिए पनि दाङमा हालसम्म पशुपन्छीमा बर्डफ्लुको समस्या नरहेको डा. ओलीले स्पष्ट पार्नुभयो।
बर्डफ्लु लगायतका संक्रामक रोगबाट जोगिन पशुपन्छी पालन गर्ने किसानले खोर तथा गोठको सरसफाइमा विशेष ध्यान दिनुपर्ने, बाहिरबाट आउने पशुपन्छीको स्वास्थ्य अवस्था बुझेर मात्र भित्र्याउनुपर्ने तथा कुनै असामान्य लक्षण देखिए तत्काल सम्बन्धित पशु सेवा निकायलाई जानकारी गराउनुपर्ने उहाँको भनाइ छ।
किसानको गोठमै पुग्छ पशु सेवा शाखाको टोली
तुलसीपुर उपमहानगरपालिकाले किसानको सहजताका लागि गत आर्थिक वर्षदेखि ‘किसानको गोठमा गएर निःशुल्क पशुपन्छी उपचार सेवा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रमअन्तर्गत गाई, भैँसी, बङ्गुरलगायत पशु बिरामी भएको अवस्थामा किसानले पशु सेवा शाखामा जानकारी गराएमा कार्यालय समयभित्रै प्राविधिक टोली किसानको घर तथा गोठमै पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको डा. ओलीले जानकारी दिनुभयो।
यसबाट ग्रामीण तथा घरमै पशुपालन गर्दै आएका किसानलाई उपचारका लागि पशु लिएर कार्यालयसम्म आउनुपर्ने बाध्यता कम भएको छ। किसानले समयमै जानकारी गराएमा प्राविधिक टोलीले सम्बन्धित स्थानमै पुगेर पशुको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार गर्ने गरेको उहाँले बताउनुभयो।
“किसानको गोठमै पुगेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ। गाई, भैँसी वा बङ्गुर बिरामी भएको अवस्थामा हामीलाई खबर गर्नुभयो भने कार्यालय समयभित्रै प्राविधिकहरू घरमै पुगेर निःशुल्क उपचार गर्नुहुन्छ,” डा. ओलीले भन्नुभयो।
उहाँका अनुसार अहिलेसम्म समयमै उपचार नपाएको भन्दै किसानबाट गुनासो आएको छैन। किसानले समस्या लुकाएर राख्नुको सट्टा पशुमा असामान्य लक्षण देखिनासाथ जानकारी गराए उपचार प्रभावकारी हुने उहाँको भनाइ छ।
सामुदायिक कुकुरको समस्या पनि बढ्दो
तुलसीपुर क्षेत्रमा सामुदायिक कुकुरको व्यवस्थापन पनि चुनौतीका रूपमा देखिएको पशु सेवा शाखाले जनाएको छ।
सामुदायिक कुकुरले मानिसलाई दुःख दिने, पशुपन्छीलाई टोकेको तथा घरपालुवा पशुलाई समेत आक्रमण गर्ने गरेको गुनासो आउने गरेको डा. ओलीले बताउनुभयो।
कतिपय स्थानमा कुकुरले पशुलाई टोकेको जानकारी पाएपछि पशु सेवा शाखाको टोलीले सम्बन्धित घरमै पुगेर घाइते पशुको उपचारसमेत गर्ने गरेको उहाँले जानकारी दिनुभयो।
सामुदायिक कुकुरको समस्या केवल पशुपन्छीको स्वास्थ्यसँग मात्र जोडिएको विषय नभई मानव स्वास्थ्य र सार्वजनिक सुरक्षासँग समेत सम्बन्धित भएकाले यसको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ छ।
‘सामुदायिक कुकुरको व्यवस्थापन गर्नुपर्छ’
सामुदायिक कुकुरको संख्या र त्यसबाट उत्पन्न समस्या बढ्दै गएकाले यसको उचित व्यवस्थापनका लागि स्थानीय सरकारले विशेष योजना बनाउनुपर्नेमा डा. ओलीले जोड दिनुभएको छ।
उहाँले सामुदायिक कुकुरको व्यवस्थापन गर्नुपर्ने विषयमा तुलसीपुर उपमहानगरपालिकाका मेयरसँग समेत आफूले कुरा राखिसकेको बताउनुभयो।
कुकुरको व्यवस्थापन गर्दा केवल हटाउने वा नियन्त्रण गर्नेभन्दा पनि व्यवस्थित रूपमा बन्ध्याकरण, खोप, उपचार तथा आवश्यक व्यवस्थापनका उपाय अपनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ।
किसानलाई चिकित्सकको सुझाव
गर्मी मौसममा पशुपन्छीलाई पर्याप्त स्वच्छ पानी उपलब्ध गराउने, गोठ तथा खोर सफा राख्ने, अत्यधिक गर्मीबाट जोगाउने र पशुपन्छीको खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्।
पशुमा ज्वरो आउने, खान छाड्ने, पखाला लाग्ने, अस्वाभाविक रूपमा कमजोर हुने, छालामा समस्या देखिने वा अन्य असामान्य लक्षण देखिएमा घरमै औषधि खुवाउनेभन्दा सम्बन्धित पशु प्राविधिक वा पशु चिकित्सकसँग सम्पर्क गर्न डा. ओलीले आग्रह गर्नुभएको छ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको किसानको गोठमै पुगेर निःशुल्क उपचार गर्ने कार्यक्रमले किसानलाई प्रत्यक्ष राहत पुगेको भन्दै उहाँले सेवा आवश्यक परेका किसानले समयमै पशु सेवा शाखालाई जानकारी गराउन आग्रह गर्नुभयो।
गर्मी मौसममा रोगको जोखिम बढ्ने र अर्कोतर्फ बर्डफ्लुजस्ता संक्रामक रोगको त्राससमेत रहने भएकाले पशुपन्छी पालनमा किसानले सामान्य सावधानीलाई समेत बेवास्ता गर्न नहुने उहाँको सुझाव छ।
पशुपन्छी स्वस्थ भए किसानको आर्थिक अवस्था पनि बलियो हुने भएकाले समयमै उपचार, नियमित स्वास्थ्य परीक्षण र उचित व्यवस्थापन नै पशुपालन व्यवसायलाई सुरक्षित र दिगो बनाउने आधार भएको पशु सेवा शाखाको भनाइ छ।
