
तुलसीपुर, दाङ, साउन १८ — दाङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले भूमि प्रशासन कार्यालय, तुलसीपुरको आकस्मिक अनुगमन गर्दै कार्यालयको सेवा प्रवाह, कार्यसम्पादन र सेवाग्राहीले भोगिरहेका समस्याबारे जानकारी लिएका छन्।
अनुगमनका क्रममा सांसद सुवेदीले कार्यालय प्रमुख सन्तराज गौतमसँग छलफल गर्दै जग्गा नामसारी, नापजाँच, लालपुर्जा वितरण, अभिलेख व्यवस्थापन तथा अन्य प्रशासनिक सेवाको अवस्थाबारे जानकारी मागेका थिए। उनले सेवाग्राहीले सहज, छिटो र पारदर्शी सेवा पाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाहमा कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती हुन नहुने बताएका थिए।

कार्यालय प्रमुख गौतमले कार्यालयको वर्तमान सेवा प्रवाह, दैनिक सेवाग्राहीको चाप, उपलब्ध जनशक्ति, डिजिटल प्रणालीको प्रयोग तथा सेवा प्रवाहका क्रममा देखिएका चुनौतीबारे सांसद सुवेदीलाई जानकारी गराएका थिए। सीमित स्रोत–साधनका बाबजुद नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउन कार्यालय निरन्तर प्रयासरत रहेको उनले बताएका थिए।
छलफलका क्रममा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने विषयमा समेत कुराकानी भएको थियो। सांसद सुवेदीले नागरिकले सरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउने वातावरण सुनिश्चित गर्न आवश्यक सुधार र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सांसद सुवेदीले पछिल्लो समय जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरूको स्थलगत अनुगमन गर्दै सेवा प्रवाहको अवस्था बुझ्ने र सेवामा सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानलाई निरन्तरता दिएका छन्।
