
तुलसीपुर, साउन १४ – दाङको तुलसीपुरस्थित ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीमाथि भएको खुकुरी प्रहार घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यालयले बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
विद्यालयका अनुसार रा.१ ख. ४६१ नम्बरको विद्यालय बस बिहिवार बिहान कक्षा सकिएपछि विद्यार्थीहरूलाई घर छोड्न जाँदै गर्दा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले बीच बाटोमै बस रोकेर जबरजस्ती बसभित्र प्रवेश गरेका थिए। उनीहरूले खुकुरी देखाएर विद्यार्थीहरूलाई त्रसित बनाउनुका साथै कक्षा ११ मा अध्ययनरत छात्र नयन वलीमाथि खुकुरी प्रहार गरेका थिए।
विद्यालयले घाइते विद्यार्थी नयन वलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। साथै घटनालगत्तै विद्यालय प्रशासन घटनास्थलमा पुगेर आवश्यक जानकारी संकलन गरेको र सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरिरहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा नाबालक विद्यार्थीमाथि भएको यस्तो हिंसात्मक आक्रमणको कडा शब्दमा निन्दा गर्दै संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी निष्पक्ष अनुसन्धानमार्फत कडा कानुनी कारबाही गर्न माग गरिएको छ। विद्यालयले अभिभावक, विद्यार्थी, शिक्षक तथा समुदायलाई अफवाहको पछि नलागी संयमित रहनसमेत आग्रह गरेको छ।
यस घटनासँगै पछिल्लो समय तुलसीपुरमा सार्वजनिक स्थान र शैक्षिक क्षेत्रलाई नै लक्षित गर्दै भइरहेका आपराधिक घटनाले शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ। दिनदहाडै विद्यालय बस रोकेर विद्यार्थीमाथि धारिलो हतियार प्रहार हुने घटनाले अभिभावकमा त्रास बढाएको छ भने विद्यालय जाने वातावरणसमेत असुरक्षित बन्दै गएको चिन्ता व्यक्त हुन थालेको छ।
स्थानीयले यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रहरी प्रशासनले अपराधीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन, विद्यालय आसपासको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन तथा नियमित सुरक्षा निगरानी बढाउन माग गरेका छन्। विद्यालयले पनि विद्यार्थीहरूको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सुरक्षित शैक्षिक वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल जारी राख्ने प्रतिबद्धता जनाएको छ।
