
काठमाडौं ।
प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्षको असोज महिनासम्म देशभर पत्रकारमाथि भएका ५९ वटा प्रेस स्वतन्त्रता हननका घटना दर्ता भएको जनाएको छ। काउन्सिलले असोज १ गतेदेखि ३१ गतेसम्म संकलन गरेको विवरणअनुसार पत्रकारमाथि कुटपिट, धम्की, गैरकानूनी नियन्त्रणदेखि नीतिगत नियन्त्रणसम्मका घटना भएका छन्।
काउन्सिलको अनुसार सबैभन्दा धेरै ४५ वटा घटना बागमती प्रदेशमा भएका छन्। त्यसपछि ५ वटा कर्णाली, ३ वटा कोशी, २ वटा लुम्बिनी र १–१ वटा मधेस र सुदूरपश्चिम प्रदेशमा प्रेस स्वतन्त्रता हननका घटना दर्ता भएका छन्।
कुल ५९ घटनामध्ये ३७ वटा कुटपिट/आक्रमण/आतङ्क सम्बन्धी, ९ वटा कानूनी/अवैध नियन्त्रण, १० वटा धर्म वा व्यवहारसँग सम्बन्धित, ६ वटा पेशागत सुरक्षा, र २ वटा नीतिगत नियन्त्रणका घटना रहेका छन्।
यी घटनाबाट ४६ जना पत्रकार प्रभावित भएका छन्, जसमा ४४ पुरुष र २ महिला पत्रकार छन्। बागमती प्रदेशका पत्रकारहरू सबैभन्दा बढी प्रभावित देखिएका छन्।
काउन्सिलले काठमाडौं उपत्यकामा सञ्चालित केही मिडियामाथि भएको तोडफोड, अग्रज पत्रकारमाथि भएको दुर्व्यवहार र समाचार नियन्त्रणका प्रयासहरूलाई प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघनका रूपमा लिएको छ।
काउन्सिलका प्रवक्ता तथा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्तिमार्फत प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कार्यहरूको निन्दा गर्दै पत्रकार सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
