
काठमाडौँ । कर्णालीको पहिचान, भाषिक सौन्दर्य र स्थानीय जीवनशैलीलाई देशव्यापी रुपमा मनपराइने गीत ‘माण्ठ हुँ म माण्ठ’ मार्फत उजागर गरिदिएका लेखक माधव चौलागाईं अब सरकारका मन्त्री बनेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले विस्तार गरेको अन्तरिम मन्त्रिपरिषद्मा चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको हो।
शुक्रबार शपथ ग्रहण समारोहमा सहभागी भएका चौलागाईं साहित्य, गीत–संगीत तथा अनुसन्धानमार्फत कर्णालीलाई निरन्तर परिचित गराउँदै आएका व्यक्तित्व हुन्। उनको कृति ‘सपादलक्ष कर्णाली’ कर्णाली समाज, संस्कृति र विकास सम्बन्धी विश्लेषणमूलक पुस्तकका रूपमा चर्चित छ। यही पुस्तकमै समावेश गरिएको र पछिल्ला वर्षहरूमा अत्यधिक लोकप्रिय बनेको गीत ‘माण्ठ हुँ म माण्ठ’ मार्फत उनले कर्णालीको भौगोलिक र सांस्कृतिक आत्मभावलाई प्रभावकारी ढंगले प्रस्तुत गरेका थिए।
जुम्लामा जन्म–हुर्किएका चौलागाईंले आधारभूत पढाइ त्यहीँ पूरा गरे। पछि उच्च शिक्षा सुर्खेतमा लिएपछि उनी छात्रवृत्तिमा थाइल्यान्ड पुगे र बैंककको एक विश्वविद्यालबाट जनस्वास्थ्यमा स्नातकोत्तर सके। अध्ययनपछि उनी कर्णालीमै फर्किएर स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएका थिए।
मानवशास्त्रमा एमफिल गरेका चौलागाईंले भविष्यमा विद्यावारिधि (PhD) गर्ने तयारीसमेत गरिरहेका छन्। अध्ययन र कामका सिलसिलामा कर्णाली बाहिर बस्दा उनले भोगेको सामाजिक दूरी, भाषिक विभेद र आत्मसम्मानको चुनौतीलाई उनले आफ्नै सिर्जनामा व्यक्त गर्दै आएका छन्।
‘पहिलो पटक जुम्लाबाट बाहिर पढ्न जाँदा धेरै अप्ठ्यारो मान्थेँ,’ उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘मानिसको व्यवहार र वातावरणले धेरै कुरा सिकाइदियो। पछि त्यसैले कर्णालीबारे अझै गहिरो बुझाइ बन्न मद्दत गर्यो।’
कर्णालीका सामाजिक प्रश्न, पहिचान र विकासका विषयमा लामो समय काम गरेका चौलागाईं सरकारमा आएको घटनालाई कर्णाली क्षेत्रका धेरैले सकारात्मक संकेतका रूपमा हेरेका छन्। वन तथा वातावरणजस्तो संवेदनशील मन्त्रालय पाएका चौलागाईं कर्णाली मातृभूमिबाट उठेको प्रतिभा अब राष्ट्रिय नीति निर्माणको जिम्मेवारीमा पुगेका उदाहरण बनेका छन्।
