
दाङ । नेशनल प्याब्सन दाङको आयोजनामा पाँचौँ बृहत् खेलकुद कार्यक्रम सोमबारदेखि तुलसीपुरमा औपचारिक रूपमा सुरु भएको छ। तुलसीपुरस्थित अरनिको मैदानमा सुरु भएको कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश चन्द खड्काले गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव खड्काले विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताहरू अत्यन्तै प्रभावकारी हुने बताउनुभयो। खेलकुदले अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष तथा नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले खेलकुद क्षेत्रको प्रवर्द्धन तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार खेलकुद कार्यक्रम आजदेखि यही महिनाको १६ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा दाङ जिल्लाभरिका नेशनल प्याब्सनमा आबद्ध १६ वटा विद्यालयको सहभागिता रहेको छ। भलिबल, एथलेटिक्स, तेक्वान्दो लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने अध्यक्ष न्यौपानेले बताउनुभयो।

उद्घाटनअघि विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा तुलसीपुर बजार परिक्रमा गर्दै र्याली निकालिएको थियो। उद्घाटन समारोहलाई थप आकर्षक बनाउन चर्चित गायिका प्रीति आलेको सांगीतिक प्रस्तुति समेत रहेको थियो। उहाँले गीत गाउँदा उपस्थित विद्यार्थीहरू उत्साहित हुँदै नाचगानमा रमाएका थिए, जसले कार्यक्रमको माहोल अझै उल्लासमय बनेको थियो।
