
सल्यान — सल्यान जिल्लामा मानव जीवन र पशुधनमा क्षति पुर्याउँदै आएको संरक्षित वन्यजन्तु (बाघ) लाई नियन्त्रण गर्न डिभिजन वन कार्यालय, सल्यानले आधिकारिक आदेश जारी गरेको छ।
डिभिजन वन कार्यालय सल्यानका अनुसार कालीमाटी गाउँपालिका वडा नम्बर ६ र ७ आसपासका क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको तथा थुप्रै चौपायामा क्षति पुगेपछि स्थिति गम्भीर बनेको हो। बाघको आतंकका कारण स्थानीय बासिन्दा घरबाहिर निस्कन समेत डराउने अवस्थामा पुगेका छन्।

स्थानीय जनप्रतिनिधि र बासिन्दाबाट पटक–पटक गुनासो आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधनसहित) तथा नियमावली २०५० (पाँचौँ संशोधनसहित) अनुसार बाघलाई पक्रन वा आवश्यक परे मार्नसमेत आदेश दिइएको डिभिजन वन कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालयले बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, बाँकेलाई पत्राचार गर्दै बाघ नियन्त्रण कार्यमा आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको छ। कार्यालयले स्थानीय सुरक्षा निकाय र सरोकारवाला निकायसँग सहकार्य गरी जनजीवन सुरक्षित बनाउने उद्देश्यले तत्काल कदम चालिएको स्पष्ट पारेको छ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले जनताको ज्यान जोगाउनु पहिलो प्राथमिकता भएकाले कानुनी प्रक्रिया पूरा गरेर बाघ नियन्त्रणको निर्णय गरिएको जानकारी दिनुभयो।
