
काठमाडौं — निर्वाचन आयोग नेपालले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकताको मान्यता दिएको छ। शुक्रबार साँझ बसेको आयोगको बैठकले विशेष महाधिवेशनबाट चयन भएको गगन थापाको नेतृत्वमा रहेको नयाँ केन्द्रीय कार्यसमितिलाई आधिकारिक रूपमा मान्यता प्रदान गरेको हो।
नेपाली कांग्रेसको विशेष महाधिवेशन गत पुस २७ गतेदेखि ३० गतेसम्म सम्पन्न भएको थियो। सो महाधिवेशनबाट गगन थापासहित नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि उक्त समूहले बिहीबार पार्टी विवरण अध्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।
यता संस्थापन पक्षले भने उक्त विशेष महाधिवेशन औपचारिक नभई सामान्य भेला मात्र भएको दाबी गर्दै आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबीका साथ शुक्रबार निर्वाचन आयोग पुगेको थियो। यस विषयमा शुक्रबार दिनभर दुवै पक्षबीच निर्वाचन आयोगमा छलफल भएको थियो।
लामो छलफलपछि आयोगले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो।
यसअघि नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनले विधानविपरीत निर्णय भए आन्दोलनको विकल्प नरहने बताएका थिए।
“विधान विपरीत गलत निर्णय भयो भने आन्दोलन गर्नुको विकल्प हामीसँग छैन,” खड्काले भनेका थिए। उनले निर्वाचन आयोगबाट गलत निर्णय हुनसक्ने आशंका व्यक्त गर्दै आवश्यक परे गाउँ–गाउँ र वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका थिए।
कार्यवाहक सभापति खड्काले आफूहरू निर्वाचनमार्फत संविधानलाई ट्र्याकमा ल्याउन चाहेको र निर्वाचन नै पार्टीको पहिलो प्राथमिकता भएको बताए पनि अन्ततः निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको हो।
