
सल्यान । कपुरकोट गाउँपालिकाको आयोजनामा राप्ती आँखा अस्पताल तुलसीपुर दाङ तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा बाँकेको प्राविधिक सहयोगमा कपुरकोट आधारभूत अस्पतालमा आँखा, नाक, कान तथा घाँटीसम्बन्धी निःशुल्क स्क्रिनिङ तथा अप्रेसन शिविर सञ्चालन गरिएको छ।

कपुरकोट गाउँपालिका अध्यक्ष तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षतामा शिविरको उद्घाटन गरिएको हो। शिविरको पहिलो दिन जम्मा ५४९ जनाले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा आँखा सम्बन्धी ३४८ जना बिरामीले सेवा लिएका छन्। जसमध्ये दृष्टि कमजोर भएका ७८ जनालाई चश्मा वितरण गरिएको छ भने मोतियाबिन्दुका ५१ जनाको आजै सफलतापूर्वक अप्रेसन गरिएको छ। उक्त अप्रेसन राप्ती आँखा अस्पताल तुलसीपुर दाङका असिस्टेन्ट प्रोफेसर डा. रन्जित कुमार साहको नेतृत्वमा रहेको चिकित्सक टोली (डा. रन्जितको टिम) ले सम्पन्न गरेको आयोजकले जनाएको छ। साथै १८२ जनाको सामान्य आँखा समस्या उपचार गरिएको छ।

त्यसैगरी नाक, कान तथा घाँटीसम्बन्धी २०१ जना बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ। जसमध्ये ११ जनालाई कानको अप्रेसन आवश्यक देखिएको छ भने १७ जनालाई श्रवण यन्त्र प्रयोग गर्नुपर्ने अवस्था रहेको छ। विभिन्न कारणले कान पाक्ने समस्या भएका २३ जना, कानको संक्रमण भई हड्डीमा समस्या देखिएका ६ जना, कानमा बाह्य वस्तु अड्किएको १ जनाको उपचार गरिएको छ। कानेगुजी जमेको समस्या भएका २६ जना तथा सामान्य समस्या भएका ११७ जनालाई उपचार तथा परामर्श प्रदान गरिएको छ।
गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकलाई घरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको जनाएको छ।
