
दाङ, फागुन २३ — दाङ निर्वाचन क्षेत्र नम्बर ३ को परिणामले यस क्षेत्रको राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन देखाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार कमल सुवेदी भारी मतान्तरसहित विजयी भएसँगै परम्परागत राजनीतिक शक्ति सन्तुलनमा नयाँ सन्देश गएको विश्लेषण गरिएको छ।
सुवेदीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गरेका हुन्। उनले ४४ हजार २४८ मत प्राप्त गर्दा गिरीले १६ हजार ४५३ मत पाए।
अन्य प्रतिस्पर्धीमध्ये नेकपा एमाले का घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिस्ट पार्टी का धनबहादुर मास्कीले ९ हजार ३२८ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का दामोदर भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्।
परम्परागत शक्ति केन्द्रमा धक्का
दाङ–३ लामो समयदेखि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने क्षेत्रका रूपमा चिनिँदै आएको थियो। तर यस पटकको परिणामले मतदाताले नयाँ राजनीतिक विकल्पतर्फ झुकाव देखाएको संकेत गरेको छ। विशेषगरी युवा मतदाता र वैकल्पिक राजनीतिप्रति आकर्षण बढ्दै गएको सन्दर्भमा सुवेदीको जितलाई त्यसैको परिणामका रूपमा पनि हेरिएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सुवेदीले यही क्षेत्रबाट उम्मेदवारी दिएका थिए। त्यसबेला उनी कांग्रेसका दीपक गिरीसँग पराजित भएका थिए। तर यस पटक भने उनले त्यही प्रतिस्पर्धीलाई ठूलो मतान्तरले हराउँदै आफूलाई बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गरेका छन्।
स्थानीय पृष्ठभूमि र अन्तर्राष्ट्रिय अनुभव
दंगीशरण गाउँपालिका–४ मौलीमा २०४४ मंसिर १६ गते सामान्य किसान परिवारमा जन्मिएका सुवेदीले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट पूरा गरेका हुन्। पछि उनले त्रिभुवन विश्वविद्यालय बाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
त्यसपछि क्यानडा सरकारको पूर्ण छात्रवृत्तिमा St. Francis Xavier University मा अध्ययन गर्दै ‘डेभलपमेन्ट लिडरसिप’ विषयमा डिप्लोमा हासिल गरेका उनले विश्वका ४५ भन्दा बढी देशको भ्रमण गरिसकेका छन्। सार्वजनिक प्रशासन र नीति निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय अनुभव आफूले हासिल गरेको उनको दाबी छ।
सामाजिक कामबाट बनाएको पहिचान
राजनीतिमा प्रवेश गर्नु अघि नै सुवेदी सामाजिक क्षेत्रमा सक्रिय थिए। उनले आफ्नी स्वर्गीय आमाको स्मृतिमा ‘विष्णुदेवी फाउन्डेसन’ स्थापना गरी गरिब तथा असहायका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएका छन्।
२०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका बेला राहत तथा सहयोग अभियानमा सक्रिय भूमिका खेलेको उनी बताउँछन्। पश्चिम दाङको बबई गाउँपालिका–५ हापुरे बजारमा रहेको ‘सामुदायिक रेडियो हापुरे’ स्थापना पनि उनकै पहलमा भएको हो।
वैकल्पिक राजनीतिप्रति मतदाताको संकेत
एक दशकभन्दा बढी समय युवाहरूबीच नेतृत्वदायी भूमिकामा सक्रिय रहेका सुवेदी २०७९ सालदेखि वैकल्पिक राजनीतिक अभियानमा खुलेर लागेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी को स्थापनाकालदेखि नै केन्द्रीय प्रशिक्षण विभाग सचिवका रूपमा कार्यरत उनी पार्टीको विचार तथा नीति निर्माणमा पनि संलग्न छन्।
विश्लेषकहरूका अनुसार दाङ–३ को यो परिणामले मतदातामा पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको अपेक्षा दुवैलाई स्पष्ट रूपमा उजागर गरेको छ। सुवेदीको जितले दाङको मात्रै होइन, समग्र राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको प्रभाव विस्तार हुँदै गएको संकेत पनि दिएको छ ।
