
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ शिवशक्ति टोल पूर्वी रजौरामा भोलिदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुने भएको छ। शिवशक्ति पशुपतिनाथ मन्दिर तथा योग भवनको भौतिक पूर्वाधार सुधार गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो।
मंगलबार (चैत १७ गते) देखि सुरु हुने महायज्ञ चैत २४ गतेसम्म सञ्चालन हुने शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष अर्जुननाथ योगीले जानकारी दिनुभयो।
मन्दिरसम्म पुग्ने सडक, खानेपानी व्यवस्था लगायत आवश्यक पूर्वाधार निर्माण तथा योग भवनलाई थप व्यवस्थित बनाउन महायज्ञ आयोजना गरिएको उहाँले बताउनुभयो।
महायज्ञमा प्रमुख कथावाचकका रूपमा सुप्रसिद्ध पण्डित चन्द्रकान्त काफ्ले रहनेछन् भने उपवाचकमा पण्डित रोहित सुवेदी रहनेछन्।
स्थानीय गोपाल सुनारका अनुसार यस्ता धार्मिक कार्यक्रमले संस्कार, सभ्यता र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
महायज्ञ सुरु हुनुअघि मंगलबार कलशयात्रा निकालिने महायज्ञ व्यवस्थापक तिलकराम शर्माले जानकारी दिनुभयो। संयोजक टिचन्द्र देवकोटाका अनुसार महायज्ञस्थलबाट सुरु हुने कलशयात्रा सामाजिक विकास डिभिजन कार्यालय हुँदै बजार परिक्रमा गर्नेछ।
