
दाङ । दाङको घोराहीमा करिब एक दशकभन्दा लामो समयदेखि खाद्य उत्पादनमा सक्रिय बीएन फुड प्रोडक्सनले नयाँ स्वादका कुकिज सार्वजनिक गरेको छ। स्थापना भएको १२ वर्ष पूरा गरेको अवसर पारेर कम्पनीले ‘कोशेली’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका कुकिज बजारमा ल्याएको हो।
घोराही उपमहानगरपालिका–१७ भैँसाहीमा उद्योग सञ्चालन गर्दै आएको कम्पनीले यसअघि केक, बिस्कुट लगायतका उत्पादनमार्फत उपभोक्तामाझ पहिचान बनाइसकेको छ। पछिल्लो चरणमा उपभोक्ताको चाहना र मागलाई ध्यानमा राख्दै कुकिज उत्पादन विस्तार गरिएको कम्पनीका महानिर्देशक नरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार कम्पनीले हाल सात प्रकारका कुकिज उत्पादन गरिसकेको छ र आगामी दिनमा थप नयाँ स्वाद र ब्राण्ड ल्याउने तयारी भइरहेको छ। उपभोक्तालाई गुणस्तरीय तथा स्वादिष्ट उत्पादन उपलब्ध गराउने उद्देश्यले निरन्तर नयाँ प्रयोग गर्दै आएको उहाँको भनाइ छ।
तर उत्पादनको गुणस्तर परीक्षणका लागि आवश्यक प्रयोगशाला सुविधा नेपालमै अभाव हुँदा भारतसम्म पुग्नुपर्ने बाध्यता रहेको पनि उहाँले उल्लेख गर्नुभयो। कम्पनीले अधिकांश कच्चा पदार्थ भने स्वदेशमै उत्पादन भएको प्रयोग गर्दै आएको छ भने केही सामग्री विदेशबाट आयात गर्नुपरेको अवस्था छ।
बीएन फुडका उत्पादनहरू दाङसहित सल्यान, रोल्पा, प्युठान, रुकुम, बर्दिया, सुर्खेत र काठमाडौँसम्म उपलब्ध छन्। हाल कम्पनीले करिब ४० जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ।
नयाँ उत्पादन सार्वजनिक गर्न दाङको नारायणपुरस्थित फन भ्यालीमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले कम्पनीले स्थानीय स्तरमा रोजगारी सिर्जना र उपभोक्ता सन्तुष्टि दुवैमा योगदान दिएको उल्लेख गरे।
कार्यक्रमकै अवसरमा कम्पनीले आफ्ना उत्कृष्ट कर्मचारीहरूलाई सम्मानसमेत गरेको थियो, जसले संस्थाभित्रको योगदानलाई कदर गरिएको सन्देश दिएको छ।
