
दाङ चैत्र २०। तुलसीपुर उपमहानगरपालिका–६ शिवशक्ति टोल पूर्वी रजौरामा मंगलबारदेखि सञ्चालनमा रहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञप्रति भक्तजनको आकर्षण दिनानुदिन बढ्दै गएको छ।
शिवशक्ति टोल विकास संस्था तथा शिवशक्ति पशुपतिनाथ मन्दिरको संयुक्त आयोजनामा सुरु भएको महायज्ञको चौथो दिनसम्म आइपुग्दा आर्थिक सहयोगमा उल्लेखनीय वृद्धि भएको महायज्ञ व्यवस्थापक तिलकराम शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार महायज्ञको दोस्रो दिन ४२ हजार ८९१ रुपैयाँ, तेस्रो दिन ९२ हजार ९५० रुपैयाँ र चौथो दिन बढेर १ लाख २८ हजार रुपैयाँ नगद संकलन भएको छ।
चैत २४ गतेसम्म सञ्चालन हुने महायज्ञमा सुप्रसिद्ध कथावाचक पण्डित चन्द्रकान्त काफ्ले र उपवाचक पण्डित रोहित सुवेदीले प्रवचन दिइरहनुभएको छ।
मन्दिर परिसरमा रहेको योग भवनको भौतिक पूर्वाधार विकास तथा समग्र संरचनात्मक सुधारका लागि महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ।
महायज्ञको चौथो दिन सरस्वती टोल विकास संस्थाका पूर्व अध्यक्ष महेन्द्र शर्मा प्रमुख अतिथिको रूपमा सहभागी हुनुका साथै २ सयभन्दा बढी भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो।
महायज्ञप्रति स्थानीयवासीको उत्साह र सहभागिता बढ्दै जाँदा आगामी दिनमा दान तथा उपस्थिति अझै वृद्धि हुने आयोजकको अपेक्षा रहेको छ।
