
वास्तविक खबर
फाल्गुन १ , तुलसीपुर – ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार: सहरदेखि गाउँसम्म व्यापार विस्तार ‘ भन्ने मूल नाराका साथ सञ्चालन भएको महोत्सव लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख अतिथितामा उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेश बहु बहुभाषिक, बहुसांस्कृतिक, कला संस्कृति पर्यावरणमा भरिपूर्ण रहेको भन्दै संस्कृति र परम्परासँग उद्यमशीलतालाई जोडेर लैजानुपर्ने उनले बताएका हुन्। मन्त्री न्यौपानेले मेला महोत्सवलाई केवल मनोरञ्जनको माध्यम मात्रै नभई ज्ञान, सीप, र व्यवसाय प्रवर्द्धनको पाठशालाका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले स्थानीय उत्पादन, पर्यटन, कला, र संस्कृति प्रवर्द्धनमा यस्ता महोत्सवहरू प्रभावकारी हुने भन्दै स्थानीय उद्यमशीलताको विकासमा सरकार प्रतिबद्ध रहेको बताए। “मेला महोत्सव व्यवसायिक विकासको थलो बन्न आवश्यक छ। यी उत्सवहरूले युवाहरूलाई उद्यमशीलता, पर्यटन, र व्यवसायबारे जानकारी दिने अवसर प्रदान गर्न सक्छन्,” मन्त्री न्यौपानेले भने।
तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता भएको उद्घाटन समारोहमा नेपाली काङ्ग्रेस, नेकपा एमाले ,नेकपा माओवादी लगायतका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव दुर्गा शर्मा र सनोद थापाले गरेका थिए।
