
काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारी थालेको छ । विद्यालय सञ्चालन गर्नका लागि आवश्यक अध्ययन गरेर प्रतिवेदन तयार गर्न महानगरले दुई सदस्यीय समिति गठन गरेको हो । महानगरको शिक्षा समितिको सोमबार बसेको बैठकले यस्तो विद्यालय सञ्चालनका लागि चाहिने भौतिक पूर्वाधार, जनशक्तिलगायत पहिचान गर्न गठित समितिलाई अध्ययनको कार्यादेश दिएको छ । समितिलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । काठमाडौं महानगर हाल शिक्षा नीति निर्माणको क्रममा रहेको र यसै क्रममा अटिजम भएका बालबालिकाका अभिभावकसँग पनि छलफल गरेको हो ।
अटिजम भएका बालबालिकालाई सकेसम्म भर्ना नलिने, लिए पनि दोब्बर शुल्क लिने, भर्ना शुल्क, मासिक शुल्क लगायतका शुल्क दरहरू हरेक स्कुलको फरक—फरक र महँगो हुने, उचित हेरचाह नगर्ने गरेको प्रवृत्ति काठमाडौं महानगरलगायत देशभरि नै छ । सामान्य विद्यार्थी पढ्ने विद्यालयमा अटिजम भएका बच्चालाई पढाउँदा अधिकांश विद्यालयले मासिक शुल्क दोब्बर र विशेष कक्षा (अपांगता भएकालाई पढाउने) मा पढाउँदा मासिक शुल्क २० हजारदेखि ६० हजार लिने गरेको अभिभावकको गुनासो छ ।
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४’ अनुसार अटिजम भएका व्यक्तिलाई सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाइ हुन्छ । उमेरको विकासअनुरूप सामान्य व्यवहार देखाउन नसक्ने, अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै गतिविधि दोहोर्याइरहने, अरूसँग घुलमिल हुन नचाहने वा तीव्र प्रतिक्रिया दिने खालका हुन्छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ६ लाख ४७ हजार ७ सय ४४ जना अर्थात् कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता देखिएको छ । जसमा अटिजम भएका पुरुष २ हजार २ सय ५८ र महिला २ हजार ६ सय २८ गरी ४ हजार ८ सय ८६ जना छन् ।
