
तुलसीपुर, ४ कात्तिक । आध्यात्मिक मोटिभेटर डा. जेपी अग्रवालले आमाको गर्भमा छदाँ गरेको गर्भ ज्ञानलाई नजप्दा मानव दुःखी भएको बताउनुभयो । नेपाल मानव धर्म सेवा समितिले दाङको तुलसीपुरमा आयोजना गरेको आध्यात्मिक विज्ञान कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उहाँले गर्भमा गरेको ज्ञानलाई रिस्टार्ट गर्न आग्रह गर्नुभयो ।
‘जन्मदेखि सक्रिय भएको दायाँ ब्रेन १२ वर्षपछि विस्तारै निष्कृय हुँदै जान्छ र त्यसपछि बायाँ ब्रेन सक्रिय हुन्छ । जसले मानवलाई दुःखी बनाउँछ । तर गर्भको ज्ञानलाई जप्दा त्यसले दाहिने ब्रेनलाई सक्रिय बनाउँछ र बायाँ र दायाँ ब्रेन सक्रिय भयो भने मानिसको जीवन सुखी र खुशी हुन्छ ।’ डा. अग्रवालले भन्नुभयो । गर्भमा सिकेको कुरालाई पुन रिस्टार्ट गर्नका लागि १२ वर्षको उमेरमा उपनयन संस्कार अर्थात व्रतबन्धको परम्परा रहेपनि ब्राह्मणले त्यसलाई प्रयाक्टीकल रुपमा बोध गराउन नसक्दा व्रतबन्धमा नै सीमित रहेको बताउनुभयो ।
