
दाङ, चैत १३
दाङको तुलसीपुरमा एक दुखद घटनामा श्रीमानले आफ्नै श्रीमतीको ज्यान लिएका छन्।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा बस्दै आएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१० का ३४ वर्षीय गोपाल ओलीले २७ वर्षीया श्रीमती कमला ओलीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका हुन्। बिहीबार साँझ करिब साढे ७ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएकी कमलालाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेत का अनुसार आरोपी श्रीमानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रारम्भिक विवरणअनुसार गोपाल ओली सरकारी सेवामा कार्यरत कर्मचारी हुन्। उनी बिरगंज स्थित वन कार्यालयमा लेखा अधिकृतको रूपमा कार्यरत रहेको खुलेको छ।
घटनाको पृष्ठभूमि झन् संवेदनशील देखिएको छ। गोपाल केही दिनअघि मात्र आफ्ना भाइको निधनपछि गरिएको काजकिरिया सकेर दाङ फर्किएका थिए। उनका भाइ महेन्द्र ओलीले चैत १ गते मुसिकोट क्षेत्रमा रहेको पुलबाट हाम फालेर आत्महत्या गरेको जानकारी प्रहरीले दिएको छ।
लगातारको पारिवारिक पीडाबीच घटेको यस घटनाले स्थानीय तहमा त्रास र चिन्ता बढाएको छ। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
