
काठमाडौं, ५ कार्तिक — काठमाडौं महानगरका मेयर बालेन शाहले पुनः एकपटक सामाजिक सञ्जालमार्फत देशको राजनीतिक र सामाजिक अवस्थाप्रति तीखो टिप्पणी गरेका छन्। आफ्नो फेसबुक पोस्टमार्फत उनले नेतादेखि सर्वसाधारण नागरिकसम्मलाई उद्देशित गर्दै तीखा प्रश्नहरू उठाएका छन्।
बालेनले लेखेका छन् —
“तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो।
Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ।
आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउछ, कांग्रेसले एमालेको जलाउछ, दोश आफ्नो बाल बच्चालाई दिन्छौ।
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ।
लाज लाग्दैन?”
उनको यो पोस्ट पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। धेरैले यसलाई नेपालको राजनीतिक नेतृत्व र नागरिक चेतनाको अवस्थामाथिको गहिरो व्यङ्ग्यका रूपमा लिएका छन्।
बालेनले बारम्बार देशको राजनीतिक अस्थिरता, नेतृत्वको असक्षम्यता र नागरिक जिम्मेवारीबारे टिप्पणी गर्दै आएका छन्। यो पोस्ट पनि त्यही क्रमको निरन्तरता हो, जसमा उनले जनताको मौनता र नेताहरूको ढोंग दुबैलाई प्रश्न गरेका छन्।
उनको पोस्ट सार्वजनिक भएपछि समर्थकहरूले “सत्य बोलेका छन्”, “यो देश यस्तै सोचले डुबेको हो” जस्ता प्रतिक्रियाहरू दिएका छन् भने केहीले “राजनीतिक हैसियतअनुसार यस्तो कठोर भाषा उचित होइन” भन्दै आलोचना पनि गरेका छन्।
बालेन शाहका यस्ता अभिव्यक्तिहरू प्रायः चर्चाको विषय बन्दै आएका छन् — कतिपयका लागि उनी जनताको आवाज हुन् भने अरूका लागि असंयमित भाषाको प्रयोग गर्ने विवादास्पद पात्र।
