
घोराही, दाङ (१२ चैत)
दाङको घोराही क्षेत्रमा लागुऔषध कारोबार भइरहेको सूचनापछि प्रहरीले गरेको कारबाहीमा पाँच जना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका–१५ स्थित स्केट पार्क नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेहरूबाट लागुऔषध ब्राउन सुगर, सुन, नगद तथा मोबाइल सेट बरामद गरिएको छ।
प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार कारबाहीका क्रममा १८ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर, करिब १६ लाखभन्दा बढी मूल्य बराबरको सुन, ४८ हजार ६२५ रुपैयाँ नगद र पाँच थान मोबाइल बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा घोराहीका सौरव वली, सिर्जना चौधरी, विशाल बिक, यसकुमारी नेपाली र मिना नेपाली रहेका छन्। उनीहरूलाई चैत १० गते साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हाल उनीहरूमाथि लागुऔषध सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी दाङ जिल्ला अदालत, घोराहीबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र लागुऔषध नियन्त्रणका लागि निगरानी कडा पारिएको पनि जनाएको छ।
