
दाङ, तुलसीपुर ।
दाङको तुलसीपुरमा सञ्चालन भइरहेको ‘प्रथम तुलसीपुर महोत्सव’ आज झनै आकर्षक र भव्य बन्ने भएको छ। महोत्सवको आजको प्रमुख आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायक शक्तिकप चन्द तथा चर्चित गायिका रचना रिमाल को विशेष साङ्गीतिक प्रस्तुति रहने भएको हो।
महोत्सव प्रचारप्रसार समितिका संयोजक तिलकराज ओली का अनुसार आज पुस १९ गते दर्शकको विशेष आकर्षणका रूपमा शक्तिकप चन्द र रचना रिमालको प्रस्तुति रहनेछ। दुवै कलाकारका लोकप्रिय गीतहरूमा दर्शक झुम्ने आयोजकको विश्वास छ।
यसैगरी, बिहीबार महोत्सव थप उत्साहपूर्ण, रौनकपूर्ण र भीडभाडयुक्त बनेको आयोजक संस्थाका महासचिव तथा सचिवालय व्यवस्थापन उपसमिति संयोजक भद्रबहादुर वली ले जानकारी दिनुभएको छ। उहाँका अनुसार महोत्सव स्थलमा दिनहुँ दर्शकको संख्या बढ्दै गएको छ भने पारिवारिक वातावरणमा सबै उमेर समूहका दर्शकहरूले मनोरञ्जन लिइरहेका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर को आयोजनामा पुस ४ गतेदेखि सञ्चालनमा आएको यस महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम, तथा घरेलु तथा साना उद्योगका उत्पादनहरूको प्रदर्शनीसमेत गरिएको छ। यसले महोत्सवलाई बहुआयामिक बनाएको आयोजकको भनाइ छ।
महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसी का अनुसार महोत्सवमा दैनिक रूपमा हजारौँ दर्शकको उल्लेख्य सहभागिता रहँदै आएको छ। कलाकारहरूको आकर्षक प्रस्तुतिले दर्शकको चासो बढाउँदा महोत्सव परिसरमा सञ्चालन भएका व्यापारिक स्टलहरूमा समेत कारोबार बढेको छ।
“कलाकारहरूको प्रस्तुतिले महोत्सवको माहोल तातिएको छ, यसले व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पारेको छ,” केसीले भन्नुभयो।
महोत्सवले स्थानीय कला, संस्कृति, कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरूको प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको आयोजकको धारणा छ। साथै, युवापुस्तालाई सांस्कृतिक गतिविधिसँग जोड्ने र स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्य पनि महोत्सवले लिएको छ।
महोत्सव अवधिभर विभिन्न चर्चित कलाकारहरूको प्रस्तुति, सांस्कृतिक झाँकी, मनोरञ्जनात्मक कार्यक्रम तथा व्यापारिक प्रदर्शनी निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ। आयोजकले महोत्सवमा उपस्थित भई मनोरञ्जन लिन तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग गर्न सम्पूर्ण दर्शकलाई आग्रह गरेका छन्।
