
दाङ । दाङको तुलसीपुरमा स्वतन्त्र रूपमा पत्रकारिता गर्दै आएका पत्रकारहरूको पहलमा स्वतन्त्र अनलाइन डिजिटल संघ दाङ (Independent Online Digital Association Dang – IODA Dang) गठन गरिएको छ।
पछिल्लो समय पत्रकारिता क्षेत्रमा राजनीतिक प्रभाव र दलगत पृष्ठपोषण बढ्दै गएको पाइएको भन्दै त्यसबाट अलग रही निष्पक्ष, स्वतन्त्र र तथ्यपरक पत्रकारिता गर्ने उद्देश्यका साथ संघ गठन गरिएको जनाइएको छ।
संघले भ्रष्टाचारविरुद्ध सशक्त रूपमा आवाज उठाउने, गलत कार्य तथा अनियमितता जहाँ–जहाँ देखिन्छ त्यहाँ त्यसलाई जस्ताको तस्तै उजागर गर्दै जनतामाझ पुर्याउने र समाधानतर्फको बाटो पहिल्याउने प्रतिबद्धता जनाएको छ। सार्वजनिक हितका विषयमा निर्भीक रूपमा सत्य उजागर गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य संघको रहेको बताइएको छ।

संघ गठनका लागि आयोजित भेलाको अध्यक्षता गर्दै भूपबहादुर भण्डारीले हरेक काम स्वतन्त्र ढङ्गले अघि बढे गन्तव्यमा पुग्न सकिने उल्लेख गर्दै नवगठित संगठनको आगामी यात्रा सफल रहोस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो।
भेलाबाट सर्वसम्मत रूपमा अध्यक्ष : शंकर भुसाल,उपाध्यक्ष : भीमबहादुर ओली,उपाध्यक्ष : अशोक शर्मा ,सचिव : देवराज कँडेल ,सह–सचिव : किरण लामिछाने कोषाध्यक्ष : राम योगी,सदस्यहरू : हरि खड्का, विक्रम बि.के., जय ओली रहेका छ्न ।
स्वतन्त्र अनलाइन डिजिटल संघ दाङले अब केही दिनभित्रै आफ्ना कार्यक्रम, नीति तथा कार्ययोजना सार्वजनिक गर्ने जानकारी दिएको छ। संघले डिजिटल पत्रकारितालाई जिम्मेवार, पारदर्शी र जनमुखी बनाउँदै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
