
सल्यान । राप्ती राजमार्ग अन्तर्गत पर्ने अमिलिया–तुलसीपुर–सल्यान–रुकुम खण्डको सडक मापदण्ड, विस्तार तथा सम्भावित प्रभावका विषयमा आज सल्यानको कपुरकोट क्षेत्रमा सरोकारवालाबीच विस्तृत समन्वय तथा छलफल बैठक सम्पन्न भएको छ। सडक विस्तारले स्थानीय बस्ती, निजी सम्पत्ति, कृषि जमिन र समग्र विकासमा पार्ने असरलाई ध्यानमा राख्दै साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।
बैठकमा कपुरकोट क्षेत्रका स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष प्रविना कुमारी श्रेष्ठसहित अन्य स्थानीय सरोकारवालाहरू सहभागी थिए। जनप्रतिनिधिहरूले सडक मापदण्ड निर्धारण गर्दा स्थानीय भूगोल, जनजीवन र वातावरणीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका थिए।

छलफलमा बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमसँग पनि समन्वय तथा विचार–विमर्श गरिएको थियो। नगरप्रमुख गौतमले राप्ती राजमार्ग सल्यान जिल्लाको आर्थिक, सामाजिक र भौतिक विकासको मुख्य आधार भएकाले यसको दीर्घकालीन योजनासहित कार्यान्वयन हुनुपर्ने धारणा राख्नुभयो। उहाँले स्थानीय सरकार र केन्द्रबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।
बैठकका क्रममा सल्यान जिल्लाबाट संघीय प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरू—नेकपा (एमाले) का गुलाबजंग शाह र नेपाली कांग्रेसका केशबहादुर बिष्टसँग पनि सडक मापदण्डका विषयमा सामान्य छलफल गरिएको थियो। उम्मेदवारहरूले सडक विस्तारका क्रममा स्थानीयको माग, मुआब्जा व्यवस्था, पुनर्स्थापना र जनसरोकारलाई बेवास्ता नगर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
कार्यक्रम राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेको उपस्थितिमा सम्पन्न भएको हो। अध्यक्ष लामिछानेले राप्ती राजमार्गसँग जोडिएका विषयमा निरन्तर संवाद, सहकार्य र दबाब आवश्यक रहेको बताउँदै यस्ता छलफलले दीर्घकालीन समाधानतर्फ मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
बैठकले राप्ती राजमार्गको सडक मापदण्ड निर्धारण तथा कार्यान्वयनका क्रममा स्थानीय तह, राजनीतिक नेतृत्व र सरोकारवाला निकायबीच सहकार्य र समझदारी अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। यस किसिमका छलफलले आगामी दिनमा सडक विकासलाई थप व्यवस्थित, सुरक्षित र जनमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ
