
दाङ ।पोखराबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा कम्तीमा १७ जनाको ज्यान गएको पुष्टि भएको छ। बस सडकबाट करिब तीन सय मिटर तल नदीमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनाको समयमा बसमा करिब ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेका अनुसार दुर्घटनापछि बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको छ।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालित छ। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली खटिएको छ भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली घटनास्थल पुगेको छ।
नदीबाट डुंगामार्फत उद्धार गरिएका यात्रुहरूलाई बगरमा जम्मा गरी एम्बुलेन्समार्फत नजिकका अस्पतालतर्फ पठाउने काम भइरहेको छ। प्रमुख जिल्ला अधिकारीसहितको प्रशासनिक टोली पनि घटनास्थलमा खटिएको छ।
हालसम्म मृतक तथा घाइतेहरूको सनाखत हुन सकेको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रशासनले जनाएको छ।
यस घटनाबारे थप विवरण आउन बाँकी छ।
