
तुलसीपुर, दाङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजना, तुलसीपुर उपमहानगरपालिकाको सहयोग तथा ग्रिन फाउण्डेशन नेपालको सहकार्यमा उद्यमीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।
घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो।
तालिममा ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायका अवसर, चुनौती र सम्भावनाबारे प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी ‘हाम्रो पहुँच’ सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जनक भण्डारीले उद्योग तथा व्यवसाय सञ्चालन, व्यवस्थापन र आर्थिक व्यवस्थापन सम्बन्धी विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रममा पत्रकार बसन्त पौडेलले उद्घोषण कला, नेतृत्व विकास तथा माइन्युट लेखन सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो। तालिममा सहभागी उद्यमीहरूले व्यवसायिक दक्षता, नेतृत्व क्षमता तथा संस्थागत व्यवस्थापन सम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको बताएका छन्।
रुकुमेली महिला सञ्जालकी अध्यक्ष दुर्गा खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासंघका महासचिव भद्रबहादुर वलीले गर्नुभएको थियो।
आयोजकका अनुसार उद्यमीहरूको क्षमता विकास, व्यवसायिक सीप अभिवृद्धि तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो।
