
दाङ, असोज २८ —
‘समृद्धिको आधार : उत्पादन र स्व–रोजगार’ भन्ने मुल उद्देश्यका साथ समृद्ध समाज दाङको पाँचौं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ
कार्यक्रम समृद्ध समाज दाङकी अध्यक्ष दिलकुमारी बि.क.को अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्की (राजेश) प्रमुख अतिथि तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको सुरुवातमा समृद्ध समाजकी सदस्य ललिता रोकायाले स्वागत मन्तव्य दिएकी थिइन्। सो अवसरमा कार्यसमिति सदस्य झरना चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण खड्काले गरेका थिए।
साधारणसभामा संस्थाले विगत वर्षका गतिविधिहरू, आगामी वर्षका योजनाहरू र सामाजिक लेखा परीक्षणसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको थियो।
