दाङमा विद्युतको हाइटेन्सन लाइनको तार चुँडिएर शरीरमा खसेपछि एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
राप्ती गाउँपालिका–३ का ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र उनीहरूका ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार हजुर आमा र नातिको घटनास्थलमै मृत्यु भएको थियो। घाइते गोरखबहादुरलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको आफन्तले जानकारी दिएको प्रहरी निरीक्षक सिंहले बताए।
शनिबार दिउँसो सवा २ बजेतिर घर अगाडिको विद्युतको हाइटेन्सन लाइन एकाएक चुँडिएर आँगनमा खस्दा हजुर आमा, नाति र हजुर बुवाको शरीरमा परेपछि उनीहरूलाई एकैसाथ करेन्ट लागेको थियो।
