
तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँ निवासी तथा हाल पोर्चुगलमा बसोबास गर्दै आउनुभएका सन्तोष केसीले आफ्ना छोरा सुजत केसीको जन्मदिनको अवसरमा शिक्षा र मानवसेवासँग जोडिएको सामाजिक कार्यक्रम सञ्चालन गरेका छन्।
जन्मदिनको अवसरमा केसीले जनता आधारभूत विद्यालय, हनेटिकामा अध्ययनरत ९० जना विद्यार्थीलाई कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेका हुन्। विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै शिक्षा क्षेत्रको विकासमा सानो भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको सन्तोष केसीले बताए।
विद्यालयका प्रधानाध्यापक कमल थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा जगाउने विश्वास व्यक्त गरेका थिए। विद्यालय प्रशासनले व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर गरिएको यस्तो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरेको छ। शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए।
विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएपछि केसी परिवारले तुलसीपुरस्थित मानव सेवा आश्रममा पुगेर आश्रममा आश्रय लिइरहेका ८० भन्दा बढी आश्रितलाई भोजन गराएको थियो। जन्मदिनको अवसरलाई केवल पारिवारिक उत्सवमा सीमित नराखी समाजका आवश्यकता भएका व्यक्तिहरूसँग खुसी साटासाट गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
आश्रममा रहेका ज्येष्ठ नागरिक, बेसहारा, मानसिक रूपमा अस्वस्थ तथा विभिन्न कारणले परिवारको साथबाट टाढा रहेका व्यक्तिहरूसँग आत्मीयता साट्दै भोजन सेवा प्रदान गरिएको थियो। आश्रितहरूसँग केही समय बिताउँदा उनीहरूको मुहारमा देखिएको खुसी र सन्तुष्टिले आफूलाई थप सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरणा मिलेको सन्तोष केसीले बताए।
कार्यक्रममा सहभागीहरूले मानव सेवा आश्रममा गरिएको सहयोगले मानवता, करुणा र सामाजिक सद्भावको सन्देश प्रवाह गरेको बताएका थिए। जन्मदिनजस्तो व्यक्तिगत खुसीको अवसरलाई शिक्षा र मानव सेवासँग जोडेर गरिएको कार्य समाजका लागि प्रेरणादायी र अनुकरणीय रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा समाजसेवी सुन्दर पाँडे, प्रेम वली, गोविन्द हमाल, पत्रकार शंकर भुसाल, अशोक शर्मा तथा बादल थापालगायतको उपस्थिति रहेको थियो।
