
रुकुम पश्चिम, असार १० – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा कार्यरत ३६ जना करार स्वास्थ्यकर्मीले सामूहिक रूपमा राजीनामा दिएका छन्। लामो समयदेखि उठाउँदै आएका सेवा–सुविधा वृद्धि र कार्यस्थलमा रहेको विभेद अन्त्यसम्बन्धी माग सम्बोधन नभएको भन्दै उनीहरूले बुधबार सामूहिक राजीनामा बुझाएका हुन्।
नगरपालिकाअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्ना समस्याबारे पटक–पटक ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएको बताएका छन्। उनीहरूका अनुसार माग सम्बोधनको अपेक्षा गरिए पनि सम्बन्धित पक्षबाट बेवास्ता र अपमानजनक व्यवहार भएको अनुभवपछि सामूहिक रूपमा पद छाड्ने निर्णय गरिएको हो।
स्वास्थ्यकर्मीहरूले बुझाएको राजीनामा पत्रमा मागका विषयमा छलफल र समाधान खोज्नुको सट्टा जिम्मेवार व्यक्तिहरूबाट निरुत्साहित गर्ने खालका अभिव्यक्ति आएको उल्लेख गरिएको छ। यसले कर्मचारीहरूको मनोबल कमजोर बनाएको र सम्मानजनक वातावरणमा काम गर्न कठिन भएको उनीहरूको दाबी छ।

उनीहरूले आफूहरूको श्रम, जिम्मेवारी र योगदानको उचित मूल्याङ्कन नगरिएको गुनासोसमेत गरेका छन्। सेवा–सुविधा र समान व्यवहारको माग गर्दै लामो समयदेखि पहल गरिए पनि अवस्था नबदलिएपछि प्रमुख प्रशासकीय अधिकृतसमक्ष सामूहिक राजीनामा बुझाइएको जनाइएको छ।

एकैपटक ३६ जना स्वास्थ्यकर्मीले पद त्यागेपछि नगरपालिकाभित्र स्वास्थ्य सेवा प्रवाह प्रभावित हुन सक्ने देखिएको छ। यद्यपि, यस विषयमा आठबिसकोट नगरपालिकाको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
समाचार / फोटो स्रोत: कखरा डट कम

