
तुलसीपुर, साउन २२ । स्थानीय स्तरमा उत्पादन हुने वस्तु तथा सेवाको प्रवर्द्धन गर्दै उद्यमीलाई बजारसँग जोड्ने उद्देश्यका साथ तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नै कार्यालय परिसरमा ‘कोसेली घर’ सञ्चालनमा ल्याएको छ। संघले कार्यालय भवनभित्र विशेष कक्ष निर्माण गरी स्थानीय उत्पादनलाई एकै स्थानबाट प्रदर्शन तथा बिक्री गर्ने व्यवस्था मिलाएको हो।
कोसेली घरमा दाङसहित आसपासका जिल्लाका घरेलु तथा साना उद्योगबाट उत्पादन गरिएका विभिन्न सामग्री राखिएका छन्। यहाँ तिल र सिस्नोको चिया, मह, गुन्द्रुक, अचार, साबुन, धूप–अगरबत्ती, हस्तकलाका सामग्री, बाँस र निगालोबाट बनेका सामग्री, माटाका भाँडाकुँडा, परम्परागत घरेलु सामग्री, कृषि उत्पादन तथा दैनिक जीवनमा प्रयोग हुने अन्य वस्तु बिक्रीका लागि उपलब्ध छन्। स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीलाई उपभोक्तासम्म सहज रूपमा पुर्याउने लक्ष्यसहित कोसेली घर स्थापना गरिएको संघले जनाएको छ।

पछिल्ला वर्षहरूमा सरकारी तथा गैरसरकारी निकायले सीपमूलक तालिम सञ्चालन गर्दै उद्यमशीलता विकासमा जोड दिँदै आएका छन्। तालिमपछि धेरैले उत्पादन सुरु गरे पनि बजार अभावका कारण अधिकांश उद्यमीले आफ्नो उत्पादन बिक्री गर्न कठिनाइ भोग्दै आएका थिए। उत्पादन गुणस्तरीय भए पनि बजारीकरणको अभावमा धेरै सामग्री गोदाममै थन्किने अवस्था सिर्जना भएको थियो। यही समस्यालाई समाधान गर्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य संघले कोसेली घर सञ्चालनमा ल्याएको जनाएको छ।
संघका अनुसार कोसेली घरमा दाङ जिल्लाका विभिन्न पालिका तथा स्थानीय तहमा सञ्चालनमा रहेका घरेलु उद्योग, महिला समूह, सहकारी संस्था, कृषक समूह तथा व्यक्तिगत उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिइएको छ। आगामी दिनमा अन्य जिल्लाका मौलिक तथा स्थानीय उत्पादनलाई समेत समेट्दै कोसेली घरलाई अझ व्यवस्थित बनाइने योजना रहेको छ।

संघका अध्यक्ष विनिल केसीले स्थानीय उत्पादनलाई बजारसँग जोड्न नसक्दा धेरै उद्यमी निराश हुने अवस्था देखिएकाले उनीहरूलाई प्रोत्साहन गर्न यो अभियान सुरु गरिएको बताए। उनका अनुसार कोसेली घरले उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा काम गर्नेछ। यसबाट स्थानीय उत्पादनको बिक्री बढ्नुका साथै उद्यमीको आत्मविश्वास र आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
उनले स्थानीय उत्पादनको प्रवर्द्धन केवल व्यापारिक गतिविधि मात्र नभई स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने अभियान पनि भएको उल्लेख गरे। “हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके गाउँमै रोजगारी सिर्जना हुन्छ, उद्यमीलाई हौसला मिल्छ र आयातित वस्तुमाथिको निर्भरता पनि घट्छ,” उनले भने।
संघले कोसेली घरमा राखिएका सामग्रीको गुणस्तर, मौलिकता र उचित मूल्यमा विशेष ध्यान दिइएको जनाएको छ। उपभोक्ताले एउटै स्थानबाट स्थानीय उत्पादन खरिद गर्न सक्ने व्यवस्था मिलाइएकाले उत्पादक र उपभोक्ता दुवैलाई लाभ पुग्ने विश्वास लिइएको छ।
तुलसीपुर उद्योग वाणिज्य संघको यो पहलले स्थानीय उत्पादनको पहिचान स्थापित गर्नुका साथै घरेलु तथा साना उद्योगको प्रवर्द्धन, उद्यमीको हौसला अभिवृद्धि र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म विस्तार गर्ने लक्ष्यसहित संघले आगामी दिनमा कोसेली घरको दायरा थप विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ।
