
तुलसीपुर। दाङको तुलसीपुर क्षेत्रमा रासायनिक मलको चरम अभाव भइरहेका बेला वास्तविक किसानले मल नपाएको र गैरकिसानले सहजै मल प्राप्त गरेको गुनासो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्बन्धित निकायसँग कडा रूपमा जवाफ मागेको छ।
रास्वपा तुलसीपुर–८ का सभापति दुर्गा डाँगी र पार्टीकी केन्द्रीय सदस्य संगीता ढकाल सहितको टोली कृषि सामग्री कम्पनी लिमिटेड, तुलसीपुर शाखामा पुगेर शाखा प्रमुख लिलाधर वलीसँग छलफल गरेको थियो। टोलीले किसानबाट लगातार आएको गुनासो प्रस्तुत गर्दै वितरण प्रक्रियामा पारदर्शिता र वास्तविक किसानलाई प्राथमिकता दिन माग गरेको जनाएको छ।
रास्वपाका प्रतिनिधिहरूले पछिल्लो समय खेती गर्ने किसान मलको लाइनमा दिनौं कुर्न बाध्य भइरहेका बेला खेती नै नगर्ने व्यक्तिले मल पाएको आरोपबारे स्पष्ट छानबिन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले वितरण प्रणालीमा कमजोरी भए त्यसलाई तत्काल सुधार्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
त्यसपछि टोलीले तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का र उपमेयर स्यानी चौधरीसँग भेट गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने विषयमा छलफल गरेको थियो।
छलफलका क्रममा मेयर खड्काले “मल खेतीयोग्य ठाउँमा मात्रै पठाउने हो, तर गलत गर्ने छुट कसैलाई छैन,” भन्दै वास्तविक किसानलाई नै मल उपलब्ध गराउने र अनियमितता पाइए कारबाही गरिने बताएका छन्।
यसैबीच किसानहरूले समयमै मल नपाउँदा धान तथा अन्य बालीको उत्पादन प्रभावित हुने चिन्ता व्यक्त गरिरहेका छन्। वितरण प्रक्रियामा देखिएको गुनासोको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने कि नहुने भन्ने विषयमा अहिले किसानको चासो केन्द्रित भएको छ।
