
साउन २३ – नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनले भने, ‘हेलिकप्टर ठोक्किएको हो । केही शवहरु देखिएको सूचना आएको छ।’
रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।
अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ ।
