
तुलसीपुर, दाङ — तुलसीपुर उपमहानगरपालिका–२ मनिकापुरस्थित कुइरेपानी जलाशयमा पहिलोपटक डुङ्गा सञ्चालन सुरु गरिएको छ। कुइरेपानी जलाशय व्यवस्थापन समितिद्वारा शुक्रबार (असोज ३१ गते) आयोजित एक औपचारिक समारोहबीच नगरप्रमुख टिकाराम खड्का र वडा नं. २ का अध्यक्ष भीम योगीले संयुक्त रूपमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख खड्काले कुइरेपानी जलाशय क्षेत्रलाई स्थानीय पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्तो परियोजनाले गाउँस्तरमा आर्थिक क्रियाकलाप बढाउने, रोजगारीका नयाँ अवसर सिर्जना गर्ने र समुदायमा स्वावलम्बनको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि वडा नं. २ का अध्यक्ष भीम योगीले समितिको पहलमा सुरु गरिएको डुङ्गा सञ्चालन सेवा जलाशयको सौन्दर्य र पर्यटकीय मूल्यमा वृद्धि गर्न सहायक हुने बताउनुभयो। उहाँले ड्याम निर्माणदेखि सञ्चालनसम्मको यात्रामा योगदान पुर्याउने पुर्व मेयर घनश्याम पाण्डे, डिभिजन वन कार्यालय, वन समिति, स्थानीय निकाय र सरोकारवालाहरूलाई आभार व्यक्त गर्दै सबैको निरन्तर सहयोगबिना यो उपलब्धि सम्भव नहुने बताउनुभयो।

त्यस्तै वडा नं. १ का अध्यक्ष हुमकान्त सापकोटा, निवर्तमान वडा नं. २ का अध्यक्ष राजु आचार्य, तकियपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तिलक केसी, भ्युडार सुनपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ढुन्डीराज न्यौपाने लगायतका वक्ताहरूले कुइरेपानी जलाशयलाई स्थानीय पर्यटनका दृष्टिले थप आकर्षक बनाउने योजना अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
वक्ताहरूले डुङ्गा सञ्चालनले युवाहरूमा रोजगारको अवसर सिर्जना गर्ने, स्थानीय बजारमा आर्थिक गतिशीलता ल्याउने र जलाशय क्षेत्रलाई दाङकै नयाँ ‘पर्यटन गन्तव्य’ बनाउने अपेक्षा व्यक्त गरे।
कार्यक्रम कुइरेपानी जलाशय व्यवस्थापन समितिका अध्यक्ष भीम ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण समितिका सचिव तिलक डाँगीले गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू, स्थानीयवासी, सामुदायिक संस्थाका प्रतिनिधि र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
