
सल्यान — जिल्लाको शारदा नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा वडा अध्यक्षसहित ६ जना व्यक्ति पक्राउ परेका छन्।
प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले शारदा नगरपालिका–१ श्रीनगरस्थित लोकबहादुर बुढाथोकीको घरमा आइतबार बिहान छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कात्तिक २ गते बिहान करिब ५ बजे प्रहरी नायव उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीको कमाण्डमा खटिएको १४ जनाको टोलीले सो स्थानमा छापा मारेको थियो।
छापा मार्ने क्रममा प्रहरीले जुवातास खेल्न प्रयोग गरिएका तासका चार गड्डी, अझ प्रयोग नभएका सात गड्डी, मोबाइल फोन छ थान र नगद एक लाख सात हजार छसय पच्चीस रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ परेकामध्ये शारदा नगरपालिका–१ का वडा अध्यक्ष प्रदीप पाण्डे, त्यही स्थानका लोकबहादुर बुढाथोकी, महोमत मिया, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका–६ का झपेन्द्र प्रकाश रोकाय रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखी थप अनुसन्धान अघि बढाइएको छ।
उनीहरू विरुद्ध जुवातास सम्बन्धी ऐनअनुसार कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
