
घोराही, दाङ — सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिले दाङमा ब्रोइलर कुखुरा र फ्रेस मासुको मूल्य समायोजन गरेको छ। समितिको आज बसेको बैठकले नयाँ दर तोक्दै भोलि असोज १६ गतेदेखि लागू हुने निर्णय गरेको हो।
ब्रोइलर कुखुराको थोक कृषक मूल्य रु. २२५ प्रति किलो, थोक फ्रेस हाउस मूल्य रु. २३० प्रति किलो र फ्रेस मासुको खुद्रा मूल्य रु. ३७० प्रति किलो निर्धारण गरिएको छ। समितिका अनुसार हाल बजारमा उत्पादन लागतमा वृद्धि, दानाको मूल्यमा निरन्तर चाप र चिस्यान व्यवस्थापनमा चुनौती देखिएकाले मूल्य समायोजन अपरिहार्य भएको हो।
हालको मूल्यले किसानलाई उत्पादन खर्च उठाउन सहज बनाउने र उपभोक्ताले पनि उचित दरमा मासु पाउने समितिको दाबी छ। “बजारमा मूल्यमा असन्तुलन देखिएकोले सबै पक्षको सन्तुलन मिलाउने गरी यो निर्णय गरिएको हो,” अध्यक्ष गिरीले बताउनुभयो।
समितिले जिल्लाभरका व्यवसायी, खुद्रा विक्रेता र फ्रेस हाउस सञ्चालकलाई तोकिएको दर लागू गर्न आग्रह गरेको छ। साथै, मूल्यमा मनपरी बढोत्तरी वा कमी गरी बजार अस्थिर पार्ने व्यवसायीमाथि कारबाही हुने चेतावनी पनि दिएको छ।
स्थानीय उपभोक्ताले भने समितिको निर्णयले बजारमा एकरूपता आउने र उपभोक्ता ठगिने अवस्था घट्ने अपेक्षा व्यक्त गरेका छन्। दाङलगायत आसपासका क्षेत्रमा मासु उपभोगको मात्रा बढ्दै गएकाले मूल्य व्यवस्थापनलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्नुपर्ने माग पनि बढ्दै गएको छ।
