
तुलसीपुर, दाङ ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको बैठक आज तुलसीपुरमा सम्पन्न भएको छ । दाङ जिल्लामा रहेका केन्द्रीय सदस्य, प्रदेश सदस्य, तथा राष्ट्रिय युवा संघ नेपाल दाङ जिल्ला कमिटीका पदाधिकारीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त बैठक आगामी कात्तिक २७ गते तुलसीपुरमा हुने “बृहत् युवा जागरण भेला” का तयारीमा केन्द्रित भएको थियो ।
बैठकले भेला सफल बनाउनका लागि विभिन्न उपसमितिहरू गठन गर्दै तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ । युवा शक्तिलाई संगठित र सचेत बनाउँदै राष्ट्रिय स्वाभिमान, उत्पादन र नेतृत्व क्षमताको विकासमा जोड दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैठकमा बताइयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीका संयोजक सन्तोष ओलीको अध्यक्षता, लुम्बिनी प्रदेश इन्चार्ज देबु बस्नेतको प्रमुख आतिथ्यता, र नेकपा (एमाले) दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको विशेष आतिथ्यता रहेको थियो ।
बैठकमा बोल्ने नेताहरूले युवाहरू देश विकास र राजनीतिक स्थिरताको मेरुदण्ड हुन् भन्ने विषयमा जोड दिएका थिए ।
नेकपा (एमाले) दाङका सह–सचिव भुवनेश्वर पौडेल, सचिवालय सदस्य भोजराज ओली र माधव ओली, राष्ट्रिय युवा संघ नेपाल दाङका इन्चार्ज लक्की लामा, सह–इन्चार्ज पूर्णिमा बुढाथोकी, राष्ट्रिय युवा संघ नेपाल दाङका अध्यक्ष विवेक योगी, र अनेरास्ववियु दाङका अध्यक्ष प्रदीप बस्नेत लगायतका नेताहरूले आफ्नो मन्तव्य राख्दै युवाहरूलाई संगठन, विचार र विकासका लागि एकजुट हुन आह्वान गरेका थिए ।
बैठकको सहजीकरण प्रदेश कमिटी सदस्य राकेश बुढाथोकीले गर्नुभएको थियो ।
बैठकमा उपस्थित नेताहरूले लुम्बिनी प्रदेशमा युवाको सशक्त संगठन निर्माण गर्न, बेरोजगारी, मादक पदार्थ दुरुपयोग, र सामाजिक विचलनविरुद्ध सचेतना अभियान चलाउने तथा आगामी भेलालाई ऐतिहासिक बनाउने प्रतिबद्धता जनाएका थिए ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीका संयोजक सन्तोष ओलीले भने, “हामी युवाहरूले नेतृत्व ग्रहण गर्ने र राष्ट्र निर्माणको बाटोमा सक्रिय बन्ने समय आएको छ । यो भेला त्यस दिशामा एक महत्वपूर्ण माइलस्टोन बन्नेछ ।”
बैठकले प्रदेशभरिका युवालाई सहभागी गराउने गरी भेलाको प्रचार–प्रसार अभियानलाई तीव्र पार्ने निर्णय पनि गरेको छ ।
