
तुलसीपुर ।
तुलसीपुर बजार क्षेत्रमा पछिल्ला दिनमा सञ्चालन भइरहेको “बजार अनुगमन” गतिविधि सुधारका लागि भन्दा पनि प्रदर्शन र प्रचारबाजीका लागि बढी प्रयोग भइरहेको आरोप उठ्न थालेको छ।
अनुगमनको नाममा व्यवसायीहरूलाई क्यामेरा अगाडि उभ्याएर सार्वजनिक रूपमा बदनाम गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै व्यवसायी समुदायले असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीय व्यवसायीहरूको भनाइअनुसार, यदि कसैले गल्ती गरेको भए कानूनी प्रक्रिया अपनाएर सच्याउने, सल्लाह र सहयोगमार्फत समाधान खोज्ने नै जिम्मेवार निकायको व्यवहार हो। तर अहिले अनुगमन टोलीले ‘भिडिओ दृश्य’ तयार पार्ने र प्रचार गर्ने शैली अपनाएको आरोप छ।
व्यवसायीहरू भन्छन्, “अनुगमनको उद्देश्य सुधार होइन, डर र बदनाम गर्ने बन्यो।”
यस्ता कार्यहरूले व्यवसायीहरूमा त्रास फैलाएको र बजारको विश्वासमा पनि नकारात्मक असर पारेको उनीहरूको गुनासो छ।
स्थानीय विश्लेषकहरूको भनाइमा, नगरपालिकाको प्रमुख भूमिका सहयोग, सचेतना र सहजीकरणमा केन्द्रित हुनुपर्ने हो। व्यवसायीहरू देशको अर्थतन्त्रका मेरुदण्ड भएकाले उनीहरूलाई अपमान होइन, सम्मान र सहकार्य आवश्यक छ।
“साँचो अनुगमन भनेको डर देखाउने होइन, सुधार ल्याउने हो,” एक व्यवसायी नेता भन्छन्, “तर यहाँ त उल्टो, प्रचारकै लागि अनुगमनको नाटक भइरहेको छ।”
यस सन्दर्भमा नगरप्रमुखले अनुगमन प्रक्रियालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने तत्काल कदम चाल्नुपर्ने माग गरिएको छ।
व्यवसायीहरूका अनुसार, यदि यस्ता अभ्यास रोकिएनन् भने तुलसीपुरको व्यवसायिक वातावरण कमजोर र अविश्वासपूर्ण बन्दै जाने खतरा छ।
