
दाङ, तुलसीपुर । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले सवारी सुरक्षालाई प्रभावकारी बनाउन नयाँ शैलीमा ट्राफिक सचेतना अभियान सुरु गरेको छ। विशेषगरी विद्यालयका सवारीसाधनमा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले कार्यालयले अनुगमनसँगै प्रत्यक्ष सचेतना कार्यक्रम सञ्चालन गर्न थालेको हो।

यसै अभियान अन्तर्गत पछिल्लो पटक तुलसीपुरस्थित गुरुजजुर माविका विद्यार्थीहरू चढेको विद्यालय गाडीमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखिएको तथा केही विद्यार्थी उभिएर यात्रा गरिरहेको अवस्थामा ट्राफिक टोलीले निगरानी गरेको थियो। त्यसपछि विद्यार्थीहरूलाई सुरक्षित रूपमा गाडीबाट झारेर ट्राफिक नियम, सुरक्षित यात्रा र सवारी क्षमताको महत्वबारे जानकारी प्रदान गरिएको थियो।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक वीरबाल रावल को नेतृत्वमा खटिएको टोलीले विद्यार्थीहरूलाई सिट क्षमताभन्दा बढी यात्रु राख्दा हुन सक्ने दुर्घटनाको जोखिम, आकस्मिक अवस्थाको चुनौती तथा जिम्मेवार यात्रुको भूमिकाबारे जानकारी दिएको जनाएको छ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई “क्षमताभन्दा बढी यात्रु बोकेको सवारीमा यात्रा नगर्ने”, “उभिएर विद्यालय नजाने”, “आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने” लगायतका विषयमा सचेत बनाइएको थियो। ट्राफिक प्रहरीले चालक तथा विद्यालय प्रशासनलाई समेत सवारी सञ्चालन गर्दा निर्धारित मापदण्ड पालना गर्न आग्रह गरेको छ।
कार्यालयको विश्वास अनुसार यस प्रकारको प्रत्यक्ष सचेतनामूलक अभियानले विद्यार्थीमा ट्राफिक नियमप्रति व्यवहारिक ज्ञान बढाउने, अभिभावकमा समेत जिम्मेवारीबोध गराउने तथा ओभरलोड सवारी चढ्ने बानी क्रमशः घटाउने अपेक्षा गरिएको छ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले आगामी दिनमा पनि विद्यालय, सार्वजनिक सवारी तथा विभिन्न समुदायमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। “सचेतना आज, सुरक्षित यात्रा भोलि” भन्ने उद्देश्यसहित सुरु गरिएको अभियानले सडक सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
