
तुलसीपुर, दाङ । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई कपडा वितरण गरिएको छ। नवलपरासीको नवलपुर–६ निवासी सामाजिक अभियन्ता सुन्दर पाण्डेको सहयोगमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत ४६ जना दृष्टिविहीन विद्यार्थीलाई आवश्यक कपडा हस्तान्तरण गरिएको हो।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तारा प्रसाद पोख्रेल, शिक्षक, विद्यार्थी तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहयोगदाता पाण्डेले दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउन र उनीहरूको दैनिक आवश्यकतामा केही सहयोग पुग्ने उद्देश्यले कपडा उपलब्ध गराइएको बताए। उनले समाजका सबै पक्षले विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा सहयोग र साथ दिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा बोल्दै विद्यालयका सहायक प्रधानाध्यापक झक्कु प्रसाद केसीले दृष्टिविहीन विद्यार्थीहरूका लागि गरिएको सहयोग निकै महत्वपूर्ण र प्रेरणादायी रहेको बताए। उनले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरू विभिन्न जिल्लाबाट आएर शिक्षा हासिल गरिरहेको उल्लेख गर्दै उनीहरूको अध्ययन र जीवन व्यवस्थापनका लागि समुदाय तथा सामाजिक क्षेत्रको साथ आवश्यक रहने बताए।
केसीले भने, “दृष्टिविहीन विद्यार्थीहरू शारीरिक रूपमा केही फरक चुनौतीसँग जुधिरहेका भए पनि उनीहरूमा क्षमता, प्रतिभा र सिकाइप्रतिको उत्साह कुनै पनि हिसाबले कम छैन। यस्ता विद्यार्थीलाई प्रोत्साहन र सहयोग गर्न सके उनीहरू समाजका सक्षम र जिम्मेवार नागरिक बन्न सक्छन्। सामाजिक अभियन्ता सुन्दर पाण्डेबाट प्राप्त यो सहयोगले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्नुका साथै उनीहरूमा आत्मविश्वास र उत्साह पनि थप्नेछ।”
उनले विद्यालयलाई सहयोग गर्ने व्यक्तिहरूले केवल सामग्री मात्र नभई विद्यार्थीहरूमा सकारात्मक सन्देश र प्रेरणा पनि प्रदान गरिरहेको बताए। “मानवीय संवेदनासँग जोडिएका यस्ता कार्यले विद्यार्थीहरूलाई आफू एक्लो छैनन्, समाज उनीहरूसँग छ भन्ने अनुभूति दिलाउँछ,” उनले भने, “यसले उनीहरूको मनोबल उच्च बनाउन र अध्ययनमा थप केन्द्रित हुन मद्दत पुर्याउँछ।”
विद्यालय व्यवस्थापन समितिका सदस्य तारा प्रसाद पोख्रेलले पनि दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राखेर गरिएको सहयोग प्रशंसनीय रहेको बताए। उनले आगामी दिनमा पनि यस्ता सहयोगी हातहरू विद्यालयसम्म पुग्ने अपेक्षा व्यक्त गरे।
विद्यालय प्रशासनका अनुसार वितरण कार्यक्रममा ४६ जना दृष्टिविहीन विद्यार्थीलाई कपडा उपलब्ध गराइएको थियो। विद्यालयले सहयोगदाता सुन्दर पाण्डेप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले विद्यार्थीहरूको शैक्षिक विकाससँगै उनीहरूको जीवनमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेको छ।
