
तुलसीपुर, दाङ । किसानका लागि रासायनिक मल र सर्वसाधारणको भान्साका लागि खाना पकाउने ग्यासको चरम अभाव तथा कालोबजारी अन्त्य गर्न माग गर्दै तुलसीपुर उपमहानगरपालिका–६ स्थित मदन आश्रित चोकमा दबाबमूलक हस्ताक्षर अभियान सञ्चालन गरिएको छ।
अभियानका संयोजक सर्जन परियारका अनुसार दुई दिनको अवधिमा करिब एक हजारभन्दा बढी नागरिकले हस्ताक्षर गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएका छन्।
‘किसानलाई रासायनिक मल र भान्सालाई ग्यासको अभाव कहिलेसम्म?’ भन्ने नारासहित सुरु गरिएको अभियानमा गरिब तथा विपन्न नागरिक, विद्यार्थी, केही कर्मचारी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको जनाइएको छ। तर अभियानमा हालसम्म प्रमुख राजनीतिक दलका नेताहरूको उपस्थिति भने देखिएको छैन।
संयोजक परियारले बजारमा ग्यास र रासायनिक मलको कालोबजारी भइरहेको व्यापक गुनासो आइरहेका बेला सर्वसाधारण प्रत्यक्ष रूपमा मारमा परेको बताए। उनका अनुसार कतिपय विद्यार्थीहरू ग्यास अभावका कारण खाना पकाउन नसकी घर फर्किन बाध्य भएको अवस्था समेत देखिएको छ।
“उच्च पदस्थ र पहुँच भएका व्यक्तिहरूले ग्यास वा मलको अभाव खासै भोग्नुपरेको देखिँदैन। तर सामान्य नागरिक, किसान र विद्यार्थीले दैनिक सास्ती खेपिरहेका छन्। बजारमा कालोबजारी भइरहेको भन्ने गुनासो व्यापक रूपमा सुनेपछि सम्बन्धित निकायलाई जिम्मेवार बनाउन यो दबाबमूलक अभियान सुरु गरेका हौं,” संयोजक परियारले बताए।
अभियानकर्ताले ग्यास र रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारीमा संलग्नमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै हस्ताक्षर अभियानबाट संकलित मागपत्र सम्बन्धित सरकारी निकायमा बुझाइने र समस्या समाधान नभएसम्म थप दबाबमूलक कार्यक्रम सञ्चालन गरिने अभियान पक्षले जनाएको छ।
