
सल्यान — सल्यानमा निर्वाचन नजिकिँदै गर्दा चुनावी गतिविधिसँग जोडिएको एक गाडीबाट मदिरा र खाद्यान्न बरामद भएपछि विवाद उत्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचारप्रसारमा संलग्न रहेको भनिएको बोलेरो जिप प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्लाको बनगाड–कुपिण्डे नगरपालिका अन्तर्गत सल्लिबजार क्षेत्रमा सोमबार बिहान करिब ८ बजे खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जिप चेकजाँचका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार जिपबाट रक्सी ७ कार्टुन, बियर २ कार्टुन, चामल २ बोरा र खाने तेल ३ कार्टुन बरामद गरिएको छ। उक्त गाडीमा पार्टीका झण्डा, ब्यानर तथा साउण्ड सिस्टम समेत जडान गरिएको थियो, जसका कारण प्रचार प्रयोजनसँग जोडेर हेर्ने आधार बनेको स्थानीयको भनाइ छ।
मतदान मिति नजिकिँदै गरेको अवस्थामा प्रचारमा प्रयोग हुने सवारी साधनमा मदिरा र खाद्यान्न ढुवानी गरिएको विषयले निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको आशंका गरिएको छ। घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो व्यापक रूपमा भाइरल बनेको छ भने स्थानीय तहमा समेत विरोध जनाइएको छ।
जिप चालक नन्द रानाले भने बरामद सामग्री स्थानीय व्यापारीको ढुवानीका लागि खैरागार लैजान लागेको दाबी गरेका छन्। ती सामग्री कृति बहादुर रानाको भएको उल्लेख गरिएको छ।
यस विषयमा रास्वपा बनगाड–कुपिण्डे नगर सभापति लोकेन्द्र वलीले प्रचारमा प्रयोग भएको गाडीमा यस्ता सामग्री राखिनु चालकको कमजोरी हुनसक्ने बताएका छन्। उनले पार्टीलाई यसबारे पूर्वजानकारी नभएको दाबी गर्दै यदि त्रुटि भएको भए कानुनी प्रक्रिया अनुसार सामना गर्ने बताएका छन्।
हाल गाडी र बरामद सामग्री प्रहरी नियन्त्रणमै रहेको छ। घटनाको यथार्थ बुझ्न थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
