
तुलसीपुर, २ जेठ — दाङको तुलसीपुर–६ स्थित डिभाइन टेम्पल एकेडेमी ले एसईई २०८२ मा सफल भएका विद्यार्थीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । विद्यालयद्वारा आयोजित सम्मान तथा बधाई कार्यक्रम शनिबार तुलसीपुरस्थित मटका रेष्ट्रो एण्ड पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रममा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थी तथा उनीहरूका अभिभावकलाई खादा तथा माला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै भोजराज न्यौपाने ले विद्यालयले केवल परीक्षाको नतिजालाई मात्र नभई विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेर शिक्षण गर्दै आएको बताउनुभयो । मेहनत, अनुशासन तथा शिक्षक–अभिभावकको सहकार्यका कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उहाँको भनाइ थियो । आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई सक्षम नागरिक बनाउने लक्ष्य रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै महेश लामिछाने ले विद्यार्थीहरूको सफलतामा शिक्षक, अभिभावक तथा विद्यालय परिवारको सामूहिक योगदान रहेको बताउनुभयो । उहाँले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अझ मेहनत र अनुशासित बन्न सुझाव दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।विद्यालयका एकेडेमिक हेड रिम खड्का ले निरन्तर अभ्यास, सकारात्मक सोच तथा शिक्षकको मार्गदर्शनले राम्रो नतिजा सम्भव भएको बताउनुभयो । विद्यालयका ईसिए कोर्डिनेटर आकाश सिंह ले विद्यार्थीहरूले पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट प्रतिभा देखाएको उल्लेख गर्नुभयो ।
त्यसैगरी पत्रकार आशिष केसी ले विद्यालयले शैक्षिक क्षेत्रसँगै विद्यार्थीको क्षमता विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै सफल विद्यार्थीहरूलाई बधाई व्यक्त गर्नुभयो ।
अभिभावकको तर्फबाट बोल्दै सुन्दर चौधरी ले विद्यालयले विद्यार्थीहरूलाई अनुशासित र गुणस्तरीय शिक्षा प्रदान गरेको बताउँदै विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयले शैक्षिकसँगै नैतिक शिक्षामा समेत जोड दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्ना अभिभावक, शिक्षक तथा विद्यालयप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनीहरूले आफ्नो सफलतामा विद्यालयको मार्गदर्शन र अभिभावकको निरन्तर साथ महत्वपूर्ण रहेको बताएका थिए । साथै व्यवस्थापन संकाय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले आगामी अध्ययन पनि डिभाइन टेम्पल एकेडेमीमै गर्ने बताएका थिए ।
कार्यक्रमको सञ्चालन विद्यालयका कार्यक्रम संयोजक पूर्ण केसी मुस्कान ले गर्नुभएको थियो ।
विद्यालयले कक्षा ११ र १२ मा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट, फाइनान्स, अकाउन्ट तथा कम्प्युटर साइन्स विषय अध्यापन गराउँदै आएको जनाएको छ ।
